डडेल्धुरा अस्पतालमा अनियमितताको आरोप लगाउँदै राप्रपाद्वारा २१ बुँदे सूचनाको माग

Image

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा विभिन्न प्रकारका अनियमितता भएको आरोप लगाउँदै सूचनाको हक ऐनअन्तर्गत २१ बुँदे सूचना माग गरेको छ।

राप्रपा डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले अस्पतालमा भएका गतिविधिबारे अध्ययन गरी आवश्यक कदम चाल्न सूचना माग गरिएको जानकारी दिएका हुन्।

राप्रपाले अस्पताललाई जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने केन्द्रका रूपमा विकास गर्नुको सट्टा केही व्यक्तिहरूको आर्थिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएको भन्ने व्यापक जनगुनासो आएको दाबी गरेको छ।

पार्टीले जारी गरेको जानकारीअनुसार अस्पतालमा बिरामीले सहज रूपमा सेवा नपाइरहेको, दशकौँदेखि कार्यरत अनुभवी कर्मचारीलाई अपमानजनक ढंगले हटाएर सत्तारूढ दल निकट व्यक्तिहरूलाई नियुक्ति गरिएको, अत्यावश्यक औषधिको खरिदमा बेवास्ता गरिएको तथा शवगृह व्यवस्थापन प्रभावकारी नभएको आरोप लगाइएको छ।

त्यसैगरी अक्सिजन प्लान्ट, एक्स–रे मेसिनलगायतका उपकरण समयमै मर्मत तथा सञ्चालन नगरिएको, सुविधा सम्पन्न एम्बुलेन्स खरिद नगरिएको, कोटेशन प्रक्रियामार्फत पुराना संरचना भत्काएर पुनः नयाँ संरचना निर्माण गरिएको तथा आवश्यकताभन्दा बढी फर्निचरलगायत सामग्री खरिद गरी प्रयोगविहीन अवस्थामा राखिएको आरोपसमेत राप्रपाले लगाएको छ।

यस्ता विषयमा व्यापक अनियमितता भएको जनगुनासो प्राप्त भएकाले अस्पतालमा देखिएको भनिएको बेथिति र विकृतिको अन्त्य गर्न सम्बन्धित निकायलाई सचेत गराउने, आमनागरिकलाई सुसूचित बनाउने तथा अस्पतालको हितका लागि खबरदारी गर्ने उद्देश्यले सूचनाको हक प्रयोग गरिएको अध्यक्ष भण्डारीले बताएका छन्।

उनका अनुसार सूचना प्राप्त भएपछि तथ्यहरूको अध्ययन गरी अनियमितता पुष्टि भए सम्बन्धित निकायमार्फत कानुनी कारबाहीका लागि आवश्यक पहल गरिनेछ। राप्रपाले सूचनाको हक ऐनअन्तर्गत अस्पताल प्रशासनसँग २१ बुँदामा विस्तृत सूचना माग गरेको जनाएको छ।