सुदूरपश्चिममा सत्ता समीकरण फेरियो, खगराज भट्ट मुख्यमन्त्री बनेः एमालेका ४ मन्त्रीले लिए शपथ

Image

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बनेका छन । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन।

भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय धनगढीमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसपछि नेकपा–एमालेबीचको सत्ता सहकार्यअनुसार भट्टले सरकार गठनका लागि दाबी पेस गरेका हुन।

एमालेबाट तीन मन्त्री, एक राज्यमन्त्री

मुख्यमन्त्री भट्टले शपथ लिएसँगै शुक्रबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन। नयाँ सरकारमा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन। सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन। यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएकी छन।

एमाले संसदीय दलका उपनेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय एमालेले यसअघि नै गरेको थियो। मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाका तर्फबाट भने तत्काल अन्य मन्त्री नियुक्त गरिएको छैन। सत्ता साझेदारीको सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने समझदारी भएको छ।

लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका हुन। नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व फेरिएको हो। यसअघि साउन २८ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।

सुदूरपश्चिमको नयाँ सत्ता समीकरणसँगै अब प्रदेश सरकारको आगामी नीति, मन्त्रालय बाँडफाँट र बाँकी मन्त्री नियुक्तिलाई चासोका साथ हेरिएको छ।