काठमाडौँ । रसुवासहित बाढी प्रभावित जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै ७ अर्ब रुपियाँ जम्मा भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको जानकारी दिए। उनका अनुसार बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ।
सरकारले कोषमा जम्मा भएको रकमबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेको छ। मंगलबार मात्रै कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपियाँ निकासा गरिएको प्रधानमन्त्री शाहले बताए।
निकासा गरिएको रकममध्ये ६ करोड ७५ लाख रुपियाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहमा पठाइसकिएको छ।
एक अर्ब रुपियाँ निकासा गरिएपछि कोषमा हाल ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ मौज्दात रहेको छ। त्यस्तै, कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार तथा राहतसँगै प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ।
बाढीपीडितका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट समेत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको सरकारले जनाएको छ। रासस













