डडेल्धुरा । निरन्तरको वर्षाका कारण सम्भावित विपद्को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा २४ घण्टाका लागि रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदराम फुयलले शनिबार जारी गरेको सूचनाअनुसार असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
डडेल्धुरा लगायत आसपासका जिल्ला जोखिम तथा अति जोखिम क्षेत्रमा परेका र जिल्लामा अघिल्लो दिनदेखि निरन्तर वर्षा भइरहेकाले पहिरो, सडक भासिने तथा ढुङ्गा–माटो खस्ने सम्भावनालाई मध्यनजर गर्दै सवारी रोकिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी फुयलले मौसम तथा सडकको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन । आकस्मिक तथा अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसैबीच, डडेल्धुरामा पछिल्लो २४ घण्टामा ११४.१ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका सूचना अधिकारी लक्ष्मी अवस्थीका अनुसार पछिल्ला तीन वर्षमा रेकर्ड भएको यो उच्च वर्षा हो । उनका अनुसार शनिबार दिनभर पनि वर्षा हुने सम्भावना रहेको छ ।
सवारी रोकका कारण डडेल्धुरा हुँदै बैतडी, दार्चुला, डोटी लगायत पहाडी जिल्लातर्फ आवतजावत गर्ने यात्रु तथा यातायात सेवा प्रभावित हुने भएको छ ।











