डडेल्धुरामा सडकको अव्यवस्थित पार्किङ हटाउन प्रशासनको कडाइ

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम क्षेत्रका सडकमा हुने अव्यवस्थित पार्किङ तथा सडक अवरोध हटाउन जिल्ला प्रशासन कार्यालयले कडाइ गर्ने भएको छ। बगरकोट सडक, बागबजार र तुफानडाँडा बजार क्षेत्रमा सवारी व्यवस्थापन सुधार गर्न पार्किङ र मालवाहक सवारीको लोड–अनलोडमा समेत समय तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी वेदराज फूयलको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले बजार क्षेत्रको यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार भागेश्वर गाउँपालिकामा सञ्चालन हुने सवारी साधनले बगरकोट सडकखण्डमा चिरञ्जीवी अस्पतालतर्फको एक साइडमा मात्र पार्किङ गर्नुपर्नेछ। अन्य स्थानीय तहमा सञ्चालन हुने सवारी साधनलाई भने बसपार्क तथा आसपासका उपयुक्त स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइने भएको छ।

त्यस्तै, बगरकोट सडक, बागबजार र तुफानडाँडा बजार क्षेत्रमा दिउँसो १ बजेदेखि ३ बजेसम्म मालवाहक सवारी साधनबाट सामान लोड तथा अनलोड गर्न रोक लगाइएको छ। यस समयमा सडकमा मालसामान ओसारपसार गर्दा सवारी आवागमनमा अवरोध हुने भएकाले यस्तो व्यवस्था गरिएको हो।

तुफानडाँडादेखि बगरकोट चोकसम्म सडकमा राखिएका निर्माण सामग्री तथा निर्माण उपकरणसमेत तत्काल हटाउने निर्णय भएको छ। सडक क्षेत्रमै निर्माण सामग्री राखिँदा सवारी साधन तथा पैदल यात्रुलाई आवतजावतमा समस्या हुँदै आएको थियो।

सडकको एक लेनमा मोटरसाइकल, अर्कोमा कार

बजार क्षेत्रमा हुने पार्किङलाई व्यवस्थित बनाउन सडकको घरतर्फको लेनमा मोटरसाइकल र त्यसपछिको लेनमा कार तथा अटो रिक्सा पार्किङ गर्ने व्यवस्था मिलाइने भएको छ। सडकको बीच भागमा भने पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइनेछ।

ट्राफिक व्यवस्थापनका लागि आवश्यक साइन पोस्ट, रोड डिभाइडरलगायतका सामग्री सडक डिभिजन कार्यालय डोटी र अमरगढी नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको छ।

बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन अमरगढी नगरपालिकाका दुई जना नगर प्रहरी खटाउन तत्काल पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ।

नियम उल्लङ्घन गर्नेलाई कारबाही

बैठकले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने, निषेधित स्थानमा पार्किङ गर्ने तथा बैठकका निर्णय अवज्ञा गर्ने चालकलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको छ।

त्यसैगरी, राजमार्गलाई अवरोधरहित रूपमा सञ्चालन गर्न कार्ययोजना तथा रोष्टर २०८३ पारित गरी कार्यान्वयनमा लैजाने निर्णयसमेत गरिएको छ।

डडेल्धुरा सदरमुकामको बगरकोट सडकमा लामो समयदेखि अव्यवस्थित पार्किङ मुख्य समस्या बन्दै आएको छ। सडकको दुवैतर्फ जथाभावी सवारी पार्किङ हुँदा साँघुरो सडकमा सवारी साधन ओहोरदोहोर गर्न कठिन हुनुका साथै पैदलयात्रुले समेत जोखिम मोलेर हिँड्नुपर्ने अवस्था रहेको छ।

प्रशासनले यसअघि पनि बजार क्षेत्रमा पार्किङ व्यवस्थापन तथा सडक अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो हुँदै आएको छ। यसपटक गरिएको निर्णय व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय भने प्रशासन, नगरपालिका, ट्राफिक प्रहरी र व्यवसायीको समन्वयमा निर्भर रहनेछ।