दसैँको अग्रिम बस टिकट शुक्रबारदेखि, घटस्थापनाबाट देशभर रुट परमिट खुला

Image

काठमाडौँ । दसैँमा घर फर्किने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी शुक्रबारदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार भएको उच्चस्तरीय बैठकले दसैँ यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो ।

यसैगरी घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गरिने भएको छ । तर, सडकको विशेष अवस्था वा प्राविधिक कारणले निश्चित आकार वा प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएका सडकमा भने उक्त प्रतिबन्ध कायमै रहनेछ ।

नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक रोक

दसैँको मुख्य यात्राको अवधिमा नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । बैठकको निर्णयअनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन । खाद्य सामग्री, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न सकिनेछ ।

विगतका वर्षमा दसैँका लागि करिब एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुला गर्ने गरिए पनि यसपटक बाढीपहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध भएपछि टिकट बुकिङ ढिला भएको हो ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाले शुक्रबारदेखि दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए ।

उनका अनुसार बिग्रिएका सडक मर्मत गर्ने, आवश्यक स्थानमा ट्र्याक खोलेर भए पनि यातायात सञ्चालन गर्ने निर्णय भएको छ । वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने भएकाले आवश्यक स्थानमा डोजर परिचालन गरी तत्काल सडक खुलाउने तयारी गरिएको छ ।

तोकिएभन्दा बढी भाडा लिए कारबाही

चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्ने व्यवसायी तथा कर्मचारीमाथि कडा कारबाही गरिने विभागले जनाएको छ ।

निर्देशक खतिवडाले यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेका छन । तोकिएको भन्दा बढी भाडा लिएको पाइए तत्काल ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न पनि उनले आग्रह गरेका छन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार नयाँ बसपार्क, चाबहिल, बल्खु, कोटेश्वरलगायत तोकिएका स्थानबाट यात्रुले अग्रिम टिकट लिन सक्नेछन् ।

यसपालि १५ लाख यात्रु बाहिरिने अनुमान

विगतका वर्षमा दसैँमा १८ देखि २० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेकामा यस वर्ष करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीमा धेरै सवारीसाधन बगेको र चालकसमेत बेपत्ता भएको अवस्थामा रहेको भन्दै सडकको अवस्थाका कारण यसपटकको यात्रा थप चुनौतीपूर्ण रहेको बताए।

उनका अनुसार विभिन्न स्थानमा सडक बिग्रिएको र सुक्खा पहिरोसमेत जाने क्रम रहेकाले यात्रा जोखिमपूर्ण छ । पानी परिरहेकाले सुरक्षाका दृष्टिले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न उहाँले यात्रुलाई आग्रह गरेका छन ।

चार मुख्य रुटबाट उपत्यकाबाहिर सवारी

महासङ्घका अनुसार दसैँको समयमा नागढुङ्गा, कोटेश्वर, बल्खु र टोखा रुटबाट सार्वजनिक सवारीसाधन उपत्यकाबाहिर जानेछन् । यात्रुको सुरक्षा र सवारी सञ्चालनलाई व्यवस्थित बनाउन यसपटक लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्नेछ । टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

दसैँ–तिहारको समयमा नयाँ बसपार्कलगायत प्रमुख टिकट काउन्टरमा यात्रुको अत्यधिक भिड हुने भएकाले सुरक्षाकर्मीको परिचालनसमेत बढाइने भएको छ । यात्रुको सहजताका लागि १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिने भएको छ ।

यस्तै सुरक्षित यात्रा तथा राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने महासङ्घले जनाएको छ ।
दसैँ यात्रालाई सुरक्षित बनाउन सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।

महासङ्घका अनुसार अग्रिम टिकट बिक्री, चालक व्यवस्थापन, यात्रुको विवरण अभिलेखीकरण, सडकको अवस्थाबारे सूचना आदानप्रदान र सुरक्षा व्यवस्थालाई एकसाथ अघि बढाएर यस वर्षको दसैँ यात्रा सुरक्षित तथा व्यवस्थित बनाउने तयारी गरिएको छ ।