काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज शनिबार औँसी तिथिमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीमा गरिने श्राद्धलाई विशेष महत्त्वका साथ लिइन्छ । कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए औँसीका दिन गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
आश्विन कृष्ण पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बुबाको श्राद्धसमेत गरी १६ तिथिमा दिवंगत पितृका नाममा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । मातामह श्राद्ध भने आइतबार गरिनेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार कुनै कारणवश आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था छ ।
यस अवधिमा पनि श्राद्ध गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने उए । उक्त दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल समय मिलाएर श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेका समयमा पनि रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था निर्णयसिन्धु र धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।
त्यसपछि पनि श्राद्ध गर्न नसकिएमा आफूले वा ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक दैनिक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी दिए ।
सोह्र श्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायतका तीर्थस्थलमा पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको तयारीले पनि गति लिन्छ । असोज २५ गते घटस्थापना गरेसँगै यस वर्षको दुर्गा पक्ष सुरु हुनेछ ।
— रासस














