बाढी र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्गमा रोकियो यातायात

Image

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ ।

काभ्रेको रोशी क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै, ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

यी सडकमा पनि यातायात प्रभावित

धादिङको धुनिबेँसी नगरपालिका–९ मा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ । नवलपरासीस्थित कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक र मनाङमा बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–९ मा पहिरो खसेपछि भेरी करिडोर पनि एकतर्फी सञ्चालनमा रहेको छ । यसैगरी, सुरुवामा गत भदौ १० गते आएको बाढीले बगाएको राजमार्गसमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह

बाढी, पहिरो र नदी कटानका कारण सडकको अवस्था थप बिग्रन सक्ने भएकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्था बुझ्न आवश्यक छ । अवरुद्ध सडकमा जबर्जस्ती यात्रा गर्दा दुर्घटनाको जोखिम हुने भएकाले वैकल्पिक मार्ग र सुरक्षासम्बन्धी सूचनालाई ध्यान दिनुपर्छ ।