काठमाडौं । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदै छ। बडादसैँको पहिलो दिन आज घरघरमा धार्मिक विधिअनुसार घटस्थापना गरी जमरा राखिँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत आज बिहान ११ः४७ बजे उत्तम रहेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म मनाउने परम्परा छ।
घटस्थापनाका दिन तामा वा माटोको कलश स्थापना गरी त्यसमा गोबर टाँसेर जौ, मकै र गहुँ छरेर जमरा राखिन्छ। यस दिन नवदुर्गाको पहिलो स्वरूप देवी शैलपुत्रीको पूजाआराधना गरिन्छ। दसैँभरि देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने धार्मिक परम्परा छ।
नवदुर्गाको पूजासँगै दसैँका विशेष दिन
बडादसैँको दोस्रो दिन द्वितीयामा देवी ब्रह्मचारिणीको पूजा गरिन्छ। ज्ञान, तपस्या र वैराग्यकी देवीका रूपमा उहाँको उपासना गर्ने परम्परा छ। तृतीयामा देवी चन्द्रघण्टा र चतुर्थीमा देवी कुष्माण्डाको पूजाआराधना गरिन्छ। चन्द्रघण्टाको पूजाले मानसिक शान्ति र साहस प्राप्त हुने तथा कुष्माण्डालाई ब्रह्माण्ड उत्पन्न गर्ने शक्तिका रूपमा मानिने धार्मिक विश्वास छ।
पाँचौँ दिन पञ्चमीमा देवी स्कन्दमाता र छैटौँ दिन षष्ठीमा देवी कात्यायनीको पूजा गरिन्छ। यससँगै दसैँको धार्मिक र सांस्कृतिक रौनक बढ्दै जान्छ। विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको चहलपहल बढ्न थाल्छ।
सातौँ दिन सप्तमीलाई फूलपातीका रूपमा मनाइन्छ। यस दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा शास्त्रीय विधिअनुसार भित्र्याउने परम्परा छ। फूलपाती भित्र्याएसँगै दसैँको उल्लास थप बढ्छ।
आठौँ दिन महाअष्टमीमा देवी महागौरीको विशेष पूजाआराधना गरिन्छ। यस दिन विभिन्न शक्तिपीठ तथा दसैँघरमा परम्पराअनुसार बलि चढाउने चलन छ। बलि नदिनेहरूले कुभिन्डो, घिरौँलालगायतका फलफूल तथा तरकारीको प्रतीकात्मक बलि दिने गर्छन्। यसै दिन सवारीसाधन र हातहतियारको पूजा गर्ने परम्परा पनि छ।
नवौँ दिन महानवमीमा देवी सिद्धिदात्रीको पूजा गरिन्छ। यस दिन उद्योग, कलकारखाना, मेसिन तथा औजारको पूजा गर्ने चलन छ। काठमाडौंको प्रसिद्ध तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।
दशमीमा विजयादशमीको टीका
बडादसैँको दसौँ दिन अर्थात् विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ।
धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयादशमी मनाउने गरिन्छ। परिवारका सदस्य तथा आफन्त एकै ठाउँमा भेला भई टीका, जमरा र आशीर्वाद साटासाट गर्ने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको अवसरसमेत हो।
दसैँले धार्मिक आस्था, पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक मेलमिलापलाई बलियो बनाउने विश्वास गरिन्छ।














