४० प्रकारका तथ्याङ्क सङ्कलन गर्दै सरकार, २३ करोड खर्च हुने

Image

काठमाडौं । सरकारले नीति, योजना निर्माण तथा विकासका कार्यक्रमलाई तथ्यमा आधारित बनाउन विभिन्न क्षेत्रसँग सम्बन्धित ४० प्रकारका तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सुरु भएर पूरा नभएका र चालु आर्थिक वर्षमा नयाँ रूपमा सुरु गरिएका गणना, सर्वेक्षण तथा अध्ययनलाई अघि बढाएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कार्ययोजनाअनुसार तथ्याङ्क सङ्कलनका कार्यक्रमअन्तर्गत राष्ट्रिय गणना, विभिन्न क्षेत्रगत सर्वेक्षण, अध्ययन तथा नियमित प्रकृतिका काम समेटिएका छन् । यी कार्यक्रम सञ्चालनका लागि कार्यालयले आफ्ना विषयगत शाखा तथा मातहतका निकायलाई सक्रिय बनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना, २०८२, राष्ट्रिय औद्योगिक गणना, २०८३ र राष्ट्रिय जनगणना २०८८ को तयारी तथा कार्यान्वयनसँग सम्बन्धित काम अघि बढाइँदै छ । चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशन गरिने छ । यसका लागि आवश्यक तथ्याङ्क देशभरबाट सङ्कलन भइसकेको छ ।

त्यस्तै, राष्ट्रिय औद्योगिक गणनाका लागि सामग्री निर्माण तथा तथ्याङ्क सङ्कलन र राष्ट्रिय जनगणना २०८८ का लागि आवश्यक दस्ताबेज तयारी गर्ने कार्यक्रम पनि चालु आर्थिक वर्षमा राखिएको छ ।

पर्यटनदेखि श्रमशक्तिसम्मका सर्वेक्षण

कार्यालयले सर्वेक्षणतर्फ सात प्रकारका कार्यक्रम अघि बढाएको छ । आन्तरिक पर्यटन सर्वेक्षणबाट प्राप्त प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्ने कार्यक्रम कार्ययोजनामा समावेश छ ।

यसैगरी, स्वास्थ्यसेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, २०८२, व्यावसायिक तरकारीबाली सर्वेक्षण, २०८२, स्थल यातायात सर्वेक्षण, २०८२ तथा सहकारी क्षेत्रको अध्ययन तथा सर्वेक्षण, २०८२ को तथ्याङ्क प्रशोधन, विश्लेषण र नतिजा प्रकाशन गर्ने तयारी छ ।

चौथो नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्याङ्क सङ्कलन, प्रशोधन तथा विश्लेषण गर्ने कार्यक्रम पनि चालु आर्थिक वर्षमा रहेको छ । यसले देशको श्रम बजार, रोजगारी तथा बेरोजगारीको अवस्था बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, व्यावसायिक चिया तथा कफी खेती सर्वेक्षण, २०८३, मत्स्यपालन सर्वेक्षण, २०८३ तथा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चसम्बन्धी सर्वेक्षण २०८३/८४ को तयारी र तथ्याङ्क सङ्कलन गर्ने कार्ययोजना छ ।

कार्यालयले वार्षिक घरपरिवार सर्वेक्षण, २०८४, अन्तरजनगणना जनसाङ्ख्यिकीय तथा समावेशीकरण सर्वेक्षण, २०८४ र पाँचौँ नेपाल जीवनस्तर सर्वेक्षणका लागि आवश्यक सामग्री तयार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।

कृषि, जनसङ्ख्या र अर्थतन्त्रमा पनि अध्ययन

चालु आर्थिक वर्षमा उखु खेतीसम्बन्धी अध्ययन, सहरी क्षेत्रमा केन्द्रित अस्थायी जनसङ्ख्यासम्बन्धी अध्ययन तथा सुन्तलाबाली सर्वेक्षण र अध्ययनसमेत सञ्चालन गरिने कार्यालयको कार्ययोजनामा उल्लेख छ ।

यसका अतिरिक्त राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन, पर्यटन स्याटेलाइट एकाउन्ट र राष्ट्रिय ट्रान्सफर एकाउन्टजस्ता आवधिक कार्यक्रम पनि सञ्चालन गरिने छन् ।

कार्यालयले नियमित कार्यक्रमअन्तर्गत मूल्य तथा उत्पादन सूचकाङ्क तयार गर्ने, राष्ट्रिय लेखाको अनुमान गर्ने, राष्ट्रिय तथ्यगत विवरण अद्यावधिक गर्ने, पालिका प्रोफाइल तयार गर्ने तथा तथ्याङ्कसम्बन्धी मानक र गुणस्तर निर्धारण गर्ने कामलाई निरन्तरता दिने जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय तुलना कार्यक्रम र वातावरणसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने काम पनि कार्ययोजनामा समेटिएका छन् ।

तथ्याङ्क सङ्कलनमा २३ करोड खर्च

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तथ्याङ्क सङ्कलनसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गर्न करिब २३ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

यसमा सबैभन्दा बढी खर्च राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छुट्याइएको छ । उक्त कार्यक्रमका लागि पाँच करोड ७७ लाख रुपियाँ खर्च हुने अनुमान छ । त्यसपछि चौथो नेपाल श्रमशक्ति सर्वेक्षणका लागि पाँच करोड ३३ लाख रुपियाँ खर्च हुने कार्यालयले जनाएको छ ।

विभिन्न क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न सङ्कलन गरिने तथ्याङ्कले सरकारलाई योजना निर्माण, स्रोत परिचालन, विकासका प्राथमिकता निर्धारण तथा नीतिगत निर्णय लिन आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।