नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Image

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन बुधबार नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई कुष्मा भनिन्छ । यी तीनै तापबाट शरणमा आएका भक्तलाई मुक्ति दिलाउने भएकाले देवीको नाम कुष्माण्डा रहेको धार्मिक मान्यता छ ।

विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा त्रिविध तापयुक्त संसार जसको उदरमा छ, उनी कुष्माण्डा भगवतीका रूपमा चिनिने उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो । सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन सोमबार ब्रह्मचारिणी र तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

शास्त्रीय परम्पराअनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी लगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।

रासस