डडेल्धुरा । बुधबार राती देखि लगातार रुपमा भईरहेको वर्षाका कारण पहिरो खस्दा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्गको डोटी जिल्लामा पर्ने घोरडी र गोगनपानीमा पहिरो खसे पछि बुधबार राति देखि नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार राजमार्ग अवरुद्ध हुदा यात्रु बोकेका सवारीका साधान, मालबाहक ट्रकसंगै बिरामी बोकेका एम्बुलेन्स बाटोमै रोकिएका छन । अबरुद्ध राजमार्ग खुलाउने कार्य भईरहेको छ । बिहिबार बिहानै देखि सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । अबको ४–५ घण्टा पछि राजमार्ग सुचारु हुने जनाईएको छ ।
यस्तै डडेल्धुरा–डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मंगलबार साँझ देखि मनसुन पुनः सक्रिय हुने र देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको पूर्व जानकारी अनुसार डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा वर्षा भईरहेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि एक सुचना जारी गर्दै वर्षा हुने भएकाले सतर्कता अपनाउन र पूर्व तपारी अवस्थामा रहन स्थानीयहरु लाई आग्रह गरेको थियो ।
मनसुन सक्रिय भएसंगै भईरहेको वर्षाले भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा समेत असर पुगेको छ । धान भित्र्याउने समयमा भएको वर्षाले किसानलाई क्षती पुगाएको छ ।












