सत्ताइस स्थानीय निकायको विदेशमा भगिनी सम्बन्ध

Image

काठमाडौँ । ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम गर्‍यो । महानगरपालिकाले उक्त सहरसँग भगिनी सम्बन्ध कायम गरी त्यहाँका ११ जना कृषि प्राविधिकलाई यहाँ ल्याएर सुनाकोठीमा कोरियाको मोडलमा ‘ग्रिन हाउस टनेल’ निर्माण गरी कृषिमा कोरियन प्रविधि प्रयोग गर्ने तयारी गरेको छ ।

त्यस्तै महानगरपालिकाले नेपालको सांस्कृतिक चिनोस्वरूप कोरियाको चेओरोन सहरमा नेपालको स्मरणका लागि पुरातात्त्विक शैलीको पाटी निर्माण गर्ने भएको छ ।

धुलिखेल नगरपालिकाले दक्षिण कोरियाको उल्जिन सहरसँग भगिनी सम्बन्ध कायम गरी उक्त सहरका जनप्रतिनिधि र धुलिखेल नगरपालिकाका जनप्रतिनिधिबिच विकास निर्माण, सेवा प्रवाह र सम्पदासम्बन्धी अनुभव आदानप्रदान गर्दै आएको छ ।

धुलिखेल नगरपालिकाभित्र भएका सांस्कृतिक सम्पदाको उल्जिन सहरका नागरिकले अवलोकन गरी यहाँको सम्पदाको पुरातात्त्विक र ऐतिहासिक पक्षबारे नागरिकलाई जानकारी गराइएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले चीनको ल्हासा म्युनिसिपालिटीबाट सौर्य बत्ती, भूकम्पको बेलामा आर्थिक सहयोग प्राप्त गरेको थियो । चीनकै नान्जिन सहरबाट फोहोरमैला व्यवस्थापनका लागि ‘कम्प्याक्ट गार्भेज’ ट्रक तथा छेन्दुबाट दुई वटा ‘बु्रमर’ प्राप्त भएको काठमाडौँ महानगरपालिकाकाले जनाएको छ ।

यी दुई महानगरले जस्तै देशका अन्य स्थानीय तहले पनि विभिन्न देशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म २७ वटा स्थानीय सरकारले विदेशका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले नेपालका स्थानीय सरकारले विदेशका विभिन्न सहरसँग भगिनी सम्बन्ध काम गर्दा बाह्य पर्यटन प्रवर्धन र संस्कृति आदानप्रदान गर्नमा टेवा पुगेको बताए ।

मन्त्रालयका अनुसार भगिनी सम्बन्ध कायम गर्ने नेपालका स्थानीय सरकारमा महानगर पालिकादेखि गाउँपालिकासम्म छन् । जसमा ललितपुर र काठमाडौँ महानगरसहित, भरतपुर महानगरपालिका, उपमहानगर पालिकाहरू जनकपुर, बुटवल, तुलसीपुर तथा धुलिखेलसहित, टोखा, कीर्तिपुर र बुढानीलकण्ठ नगरपालिकालगायतका छन् ।

स्थानीय तहले दक्षिण कोरिया, भारत, चीन, बेलायत, स्पेन, इटाली, संयुक्त राज्य अमेरिका, बेलारुस, म्यानमार र रुसका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले भगिनी सम्बन्धबाट कृषिमा कोरियन मोडल प्रयोग गरी आधुनिक प्रविधियुक्त कृषि कार्य सञ्चालन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार भगिनी सम्बन्ध स्थापनापछि अपेक्षा अनुरूप काम नभए पनि यहाँका स्थानीय सरकारले विकास र प्रविधिमा क्रमिक रूपमा विदेशी अनुभव बुझ्ने र सिक्ने अवसर भने पाएका छन् ।

उक्त अवसरलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने गरी भगिनी सम्बन्ध कायम भएका छन् । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू (श्रेष्ठ) ले भगिनी सम्बन्धले दुई देशका सहरबिच विकासका मोडल आदानप्रदान र पर्यटन प्रवर्धनमा सहयोग पुगेको बताए ।

कानुनी व्यवस्था

स्थानीय सरकार सञ्चालन ऐन दफा ११ को उपदफा ८ मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने भन्ने उल्लेख गरिएको छ ।

सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका बनाइए पनि सरकारले उक्त निर्देशिकालाई परिमार्जन गर्न लागेको जनाइएको छ ।

दुई देशका स्थानीय सरकारबिचको भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिकालाई परिमार्जन गरी समयसापेक्ष बनाउन लागेको प्रवक्ता पराजुलीले जानकारी दिए । नेपालभित्रकै कतिपय स्थानीय सरकारले पनि आपसमा भगिनी सम्बन्ध कायम गरी विकास निर्माण र सेवा प्रवाहमा अनुभव आदानप्रदान गर्दै आएका छन् ।