बन्द हुने स्थितीमा वेथस्दा बालगृह

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरामा रहेको बाल गृह बन्द हुने स्थितीमा पुगेको छ । बेसाहारा, अनाथ एवं टुहुरा, बालबालिकालाई गाँस, बास र कपाससंगै शिक्षा प्रदान गर्दै आईरहेको वेथस्दा बालहगृह बन्द हुने स्थितीमा पुगेको हो । आफ्नो स्रोत नहुनु र दाताहरुको सहयोग नहुदा बालगृह बन्द गर्नु पर्ने स्थितीमा पुगेको बालगृहका अध्यक्ष जीत ताम्राकारले जानकारी दिए ।

२०७१ साल देखि संचालन गरिएको वेथस्दा बालगृहमा अहिले पाँच जना बालकालिकाहरु बस्दै आईरहेका छन । करिब १० वर्षको अबधिमा ३० जना बालबालिका यहाँ बसेर अध्ययन गरि आफन्त एवं विभिन्न काममा लागेका छन । बेसाहारा बालबालिकालाई बालगृहमा राखेर हेरचाहसंगै सामुदायिक विद्यालयमा अध्ययापन गराईन्छ ।

बालगृह संचालनका लागि एक जना वार्डेनसंगै तीन अन्य गरि चार जना कर्मचारी राखिएका छन । देश संघियतामा गएपछि बनेको सुदूरपश्चिम सरकारले बालगृहको भवन निर्माण गर्न करिब ३५ लाख रकम खर्चसमेत गरेको छ । तर अहिले कुनै पनि सरकारले सहयोग गरिरहेको छैन । दाताहरुसमेत नभएकाले बालगृह संचालनमा समस्या भएको अध्यक्ष ताम्राकारको भनाई छ ।

आर्थिक एवं खाद्यान्न सहयोग नपाउदा बजारमा सवा एक लाख रुपियाँ उधारो पुगेको छ । उनले भने, खाद्यान्न उधारो लिएको पसल संचालकले उधारो चुक्ता नगरे अब खाद्यान्न उपलब्ध गराउन नसक्ने भनि जानकारी गराएका छन । यस्तो अवस्थामा पाँच जना बालबालिका र चार जना कर्मचारीलाई कसरी पाल्ने । साह्रै समस्या छ । ु

अरु बेसाहारा बालबालिकाहरु लाई पनि बालगृहमा राखिदिनुपर्यो भन्ने खबरहरु विभिन्न ठाउँबाट आईरहेका छन । उनले भने, हामिसंग १२ जना बालबालिका राख्न सक्ने भौतिक संरचना छ । तर अािर्थक अभावका कारण अहिले बालगृहमा भएका बालबालिकालाई पनि कहाँ, कसको जिम्मा लगाउने भन्ने समस्या छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा अनाथालय एवं बृद्धाश्रम संचालन शिर्षक अन्तरगत सामाजिक विकास कार्यलय डडेल्धुरासंग पाँच लाख रुपियाँको सम्झौता भएको थियो । अध्यक्ष ताम्राकारले भने, असार मसान्तमा करिब साढे तीन लाख रुपियाँ मात्रै भुक्तानी भयो । यस वर्ष भने कुनै पनि कार्यालयसंग आर्थिक रुपमा सम्झौता हुन नसेको उनले बताए ।

बालगृहका अध्यक्ष ताम्राकारले बालगृह संकटमा रहेकाले सहयोग गर्न तीनै तहका सरकार र दाताहरु लाई आग्रह गरेका छन । संविधानमा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । उनले भने, अनाथ, टुहुरा, असाहाय बालबालिका अझैपनि सडकमै छन । बालश्रममा छन । हामि बेसाहारा बालबालिकाको भविष्यका लागि केही गरौ भनेर लागेका छौ । तर कुनै पनि सरकारले हामिलाई सहयोग गर्दैनन् ।

सहयोग नमिलेकै कारण देशभरका बालगृह बन्द हुने स्थितीमा पुगेको र केही बालगृहहरु यस अघि नै बन्द भएको उनले बताए । सुदूरपश्चिम प्रदेशमा हाल पाँच वटा बालगृह संचालनमा रहेका छन । सात पहाडी जिल्ला रहेको सुदूरपश्चिममा पहाडी जिल्लामा भने वेथस्दा एक मात्रै बालगृह हो ।