बगेर खेर जाँदै मुस्ताङमा भोटको नुन

Image

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे ।

“मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उनले भने, “आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ ।

अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् । प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताए ।

गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन । “पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०–७० मुरी नुन निकाल्ने गर्दथे”, उनले भने, “अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।”

स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो । मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् ।

पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो । उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् । नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् ।

बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् । राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो ।