बाजुरा । चिसो बढेका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ । यहाँका विद्यालयले लिइने गरेको अर्धवार्षिक परीक्षाको समयमा उच्च हिमाली क्षेत्रमा परेको हिमपातले चिसो बढेपछि बालबालिकाहरुको परीक्षा पनि प्रभावित बन्दै गएको हो ।
शैक्षिक सत्र २०८१ मा भर्ना भएका बालबालिकाहरुको अर्धवार्षिक परीक्षा सञ्चालन भइरेको समय चिसो बढ्दै गएपछि परीक्षा प्रभावित बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण कक्षा कोठामा बस्न समस्या भएपछि बाहिर चौरमा बसेर परीक्षा दिने गरेको त्रिवेणी नगरपालिका–३ मा रहेको धौलपुरी माविका कक्षा १० का छात्र निखिल साउदले बताए ।
उनले भने, “आज बिहानदेखि लेकतिर हिमपात भएपछि यता पनि त्यो हिउँको सकारो आउने गरेकोले चिसो भयो । त्यो चिसोको कारण कक्षा कोठामा बसेर परीक्षामा दिन समस्या भएपछि बाहिर घाममा बसेर परीक्षा दिने गरेको साउदले बताए ।
विद्यालयमा कक्षाकोठाको अभाव छ । त्यसैमा हिमाली क्षेत्रमा हिमपात भएकोले यता पनि चिसो बढेपछि बालबालिकाहरुलाई बाहिर चौरमा घममा बसालेर परीक्षा लिने गरेको धौलपुरी माविका प्राधानाध्यापक रतनबहादुर सुनारले बताए ।
उनले भने, “कक्षाकोठा कम छन् । विद्यार्थी बढी छन् । एकदेखि दश कक्षासम्मका बालबालिकाहरुको परीक्षासँगै लिएका छौं । यी सबै बालबालिकाहरु कक्षाकोठामा बसालेर परीक्षा लिन सक्ने अवस्था छैन ।”
विद्यालयमा झण्डै २५४ छात्राछात्र यो परीक्षामा समावेश भएका छन् । कक्षा कोठा अभाव भएका कारण सबै बालबालिकाहरुलाई घामको साहाराले बाहिर चौरमा राखेर परीक्षा लिने गरेको प्रधानाध्यापक सुनारले बताए ।
बाजुराका नौ वटै स्थानीय तहमा प्रारम्भिक बाल कक्षा २८२ आधारभूत विद्यायलय, २५३ छदेखि आठ कक्षा सम्मका १२१ नौदेखि दशसम्म, ६८ र एघारदेखि बाह्रसम्म तीस वटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताए ।












