बैतडी । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम सुरु भएसँगै यहाँका छ हजार घरधुरीमा बिजुली बलेको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये हालसम्म २७ हजार घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । चालु आर्थिक वर्षमा थप आठ हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ विद्युतीकरणको काम भइरहेको छ ।
बैतडीलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यका साथ तल्लो स्वराड क्षेत्र, सिगास र पुर्चौडी क्षेत्रमा प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताए ।
उनले भने, “छ हजार घरधुरीमा नयाँ लाइन विस्तार गरेर बिजुली बालेका छौँ । चालु आवमा थप आठ हजार धरधुरीमा बिजुली बाल्छौँ । २०८२ सालभित्र बैतडीमा एउटा पनि घर अँध्यारो नरहने गरेर पूर्ण विद्युतीकरण गर्छौं । बिजुली बाल्न पाटन नगरपालिकाको पाटन, दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा, सिगास गाउँपालिकाको वृन्दावन र मेलौली नगरपालिका गरेर चार ठाउँमा ३३र११ केभीका सबस्टेसन निर्माणको काम भइरहेको छ । ठेक्कामार्फत बिजुलीका पोल र तार तान्ने काम धमाधम भइरहेको छ ।”
चार वटा सबस्टेसनमध्ये पाटन र मेलौली नगरपालिकास्थित ३३ केभी सबस्टेसन निर्माण, प्रसारणलाई विस्तारको काम सम्पन्न भएर स्विचयार्ड मेसिन जडानको काम बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिए । वृन्दावन र दोगडाकेदारमा सबस्टेसनको भवन निर्माण भइरहेको छ ।
ग्रामीण क्षेत्रमा विद्युतीकरणसँगै सहरी क्षेत्रमा विद्युतको क्षमता वृद्धि गरिएको छ । बैतडी सदरमुकामको गढी, गोठालापानी र शाहीलेक बजार क्षेत्रको नाङ्गो तार प्रतिस्थापन गर्दै प्लास्टिक कोडेट केबुल तार विस्तार गरी चौबिसै घण्टा चाहे जति विद्युत् दिन सक्ने गरी लाइनको क्षमता वृद्धि गरिएको बैतडी वितरण केन्द्रका प्रमुख इन्जिनियर पौडेलले जानकारी दिए ।
इन्जिनियर पौडेलले उद्योग, साना कलकारखाना सञ्चालन गर्न सदरमुकामसँगै देहिमाडौँ बजार, पाटन र खोड्पे बजारको लाइन सुधार गर्ने काम भइरहेको बताउए । बजार क्षेत्रका लागि छुट्टै फिडरको व्यवस्था गरेर नाङ्गो तार प्रतिस्थापन गर्न एक करोड २५ लाख रुपियाँको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको वितरण केन्द्रले जनाएको छ ।
जिल्लाको विभिन्न बजार क्षेत्रमा मिल, फर्निचर, ग्रिल जस्ता साना उद्योग सञ्चालनमा रहेका छन् । बजार क्षेत्रको विद्युत्को क्षमता वृद्धि र लाइन सुधार भएपछि उद्यमीलाई सहज भइरहेको मसला उद्योगका सञ्चालक मोहिक भण्डारीले बताए ।












