बैतडी जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन

Image

बैतडी । जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर हाजिर भएका छन । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रामकुमार यादव र मेडिकल अधिकृत डा. निश्चल ज्ञवाली मङ्गलबार बैतडी अस्पताल आएका हुन ।

उनीहरूले मङ्गलबारदेखि नै जिम्मेवारी सम्हाल्नुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. यादव प्रदेश सरकारको परामर्श सेवा र मेडिकल अधिकृत ज्ञवाली छात्रवृत्ति करारबाट बैतडी अस्पतालमा हाजिर भएको मेसु डाक्टर विकले बताए ।

अब जिल्ला अस्पताल बैतडीमा दुई विशेषज्ञ, एक डेन्टल र छ मेडिकल अधिकृत गरी जम्मा नौ जना डाक्टर कार्यरत रहेका छन । डा. यादवले कामकाज थालेसँगै बैतडी अस्पतालबाट स्त्री तथा प्रसूतिरोगसम्बन्धी जाँच र उपचार गर्न थालिएको छ ।

विशेषज्ञ डाक्टर अभावमा डडेल्धुरा र धनगढी तथा भारतको पिथौरागढ जानुपर्ने बाध्यता रहेकोमा स्त्री रोग उपचार सेवा संचालनमा आएपछि बैतडीका बिरामीले जिल्लामै सहज सेवा पाउने अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताए ।