वर्षा हुदै बिदा भयो हिउँद

Image

काठमाडौँ । यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ । हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको हो ।

लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्तिम समयमा बल्ल देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए । मङ्सिर १५ देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम मानिन्छ । हल्काफुल्का वर्षासँगै यो वर्षको हिउँदले बिदा लिएको कँडेलले जानकारी दिए ।

उनले भने, “बिहेमा बेहुलीले बिदाइमा आँसु झारे जस्तै बरर पानी झार्दै हिउँदले बिदा लियो, माइती घरबाट बेहुलीको बिदाइ जस्तै भयो यो हिउँद ।” हिउँदको सुरुवाती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगैको खडेरीको अवस्था सिर्जना भएको थियो ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदको वर्षा यस पटक सन्तोषजनक नरहेको उनले प्रस्ट्याए ।

कँडेलका अनुसार शुव्रmबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षा भएको छ । त्यसयताका भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उनले जानकारी दिए । कोशी, गण्डकी, बागमती र मधेश प्रदेशका अधिकांश भूभागमा पनि बदलीसहित वर्षा भएको छ ।

अधिकांश हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ । लामो समयपछिको वर्षा र हिमपातका कारण पहाडी तथा हिमाली भेगका स्थानीयमा खुसी छाएको छ । हिउँदे बालीलाई अहिलेको वर्षाले राहत पुयाएको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिए ।

गत २४ घण्टामा सबैभन्दा बढी बैतडीको डिलासैनीमा वर्षा भएको छ । त्यस्तै डडेलधुरा, बाजुरा, कालीकोट, जुम्ला, कास्की, चितवनलगायतका भेगमा पनि राम्रो वर्षा र हिमपात भएको छ । शनिबार पनि विभिन्न भेगमा सामान्य वर्षा र हिमपातको अवस्था कायम रहने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशमा भने सामान्य बदली कायम रहने छ । हिमपात र वर्षासँगै चिसो बढेकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । कतै कतै वर्षा र हिमपातका कारण जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न सतर्कता अपनाउन पनि भनिएको छ । रुकुम, हुम्ला, जुम्लालगायतका स्थानमा भीषण हिमपात भएको छ । आइतबारदेखि मौसममा राम्ररी सुधार आउने महाशाखाले जनाएको छ ।