बाजुराको धुरासैन सडक पाँच वर्षदेखि अलपत्र, ठेकेदार फरार

Image

बाजुरा । बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक कालोपत्रेको काम अलपत्र परेको छ । २०७९ साल चैत मसान्त काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवी एस, एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक कालोपत्रे गर्ने गरी जिम्मा लिएको हो ।

सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिले समयमै काम सम्पन्न नगर्दा यती बेला बल्दे धुरासैन सडक कालोपत्रे गर्ने काम अलपत्र परेको हो ।

समयमै सडक कालोपत्रेको काम नहुँदा बह्रमतोला, कुँडी, डुग्री, आटिचौर र डोगडीका लगायतका स्थानीयबासीलाई बर्खा आउजाउ गर्न निकै सास्ती खेप्नु परेको बूढीगङ्गा नगरपालिका–२ बसन्तबालमैन्त्री आधारभूत विद्यालयका शिक्षक बहादुर थापाले बताए ।

उनले भने, “ सडक कालोपत्रे गर्ने काम अहिले गरी सक्नु पर्ने हो । तर ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रे गर्ने काम अलपत्र परेको हो ।”

अहिले यो सडकमा कालोपत्रेको काम नहुँदा यहाँका स्थानीयबासीलाई बर्खाको बेला पानीले बाटो अवरुद्ध हुने गरेपछि यती बेला दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या भएको थापाले बताए ।

वि.स २०६५–०६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटिचौर सम्मको कच्ची सडकको निर्माण कार्य सम्पन्न गरेपछि छोटा दुरीका सवारी साधना सञ्चालनमा आएका थिए । बल्दे आटिचौर सडकले बूढीगङ्गा नगरपालिकाको –२ को बल्दे देखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङग छोएको छ ।

पहिले कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । उता डोगडी देखि आटिचौर लगायतका स्थानीयहरू यही सडकबाट दैनिक कामकाजका लागि साँफे मार्तडी लगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गर्दछन् ।

लामो समयको निर्माणाधीन यो सडकले हिउँद बर्खाको बेला बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।

२०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असार सम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झन्डै ११ करोडमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए ।