विदेशबाट फर्केर भाडाको जग्गामा प्रबिधिमैत्रि तरकारी खेतीः वार्षिक आठ लाख मूनाफा कमाउने लक्ष्य (भिडियो)

Image

डडेल्धुरा । रोजगारीका लागि केही वर्ष पहिले मलेसिया पुगेका गन्यापधुरा गाउँपालिका १ का स्थानीय हिरा भण्डारी अहिले गाउँमै जग्गा भाडामा लिई तरकारी खेती गर्दै आईरहेका छन । उनी तीन वर्ष मलेसिया बसेर घर फर्किएका थिए । दोस्रो पटकपनि रोजगारीका लागि विदेश वा भारत जाने मनस्थिती बनाएका उनले गत माघ महिना यता गाउँमै तरकारी खेती गर्न थालेका हुन ।

उनीसंगै एक अर्का स्थानीय ललित महता मिलेर अहिले अत्तरिया–डडेल्धुरा जोड्ने महाकाली राजमार्गसंग जोडिएको गन्यापधुरा गाउँपालिका १ भातकाँडा गाउँमा तरकारी खेती गरिरहेका छन । पोली हाउसभित्र च्याउ, टमाटर, भेडेखुर्सानी, काउली, खुर्सानी, मुलालगायतका तरकारी खेती गरिरहनुभएका उनले वार्षिक आठ लाख मुनाफा कमाउने लक्ष्य रहेको सुनाए ।

दुई जना गाउँले मिलेर २६ रोपनी जमिन वार्षिक ७० हजार रुपियाँ भाडा तिर्नेगरि तरकारी खेती सुरु गरेको उनले बताए । माघ महिना यता च्याउ मात्रै करिब पाँच लाखको बिक्रि गरेको उनले बताए । सबैभन्दा बढी भेडेखुर्सानी रोपेको जानकारी दिदै उनले एक पोली हाउसबाट एक लाख रुपियाँ आम्दानी हुने अपेक्षा लिएका छन ।

यसपाली पनि भारत जाने तयारी गरेको थिए । उनले भने, कृषि ज्ञान केन्द्रमा गएर बुझ्दा ५० प्रतिशत अनुदान दिने योजना भएको जानकारी पाएपछि दुई जना मिलेर तरकारी खेती सुरु गरेका हौ । पाँच वटा पोलीहाउस बनाएका छौ । च्याउकालागि पनि प्लाष्टिकका घर बनायौ । कहिलेकाही मात्रै ज्यालादारीमा कामदार लगाउछौ । प्रायः बारीमा आफै काम गर्छौ । सात, आठ महिनाको अबधिमा च्याउ र तरकारी बेच्दा राम्रै भएको छ ।

बाँझो जमिन पाँच वर्षका लागि भाडामा लिई तरकारी खेती सुरु गरेको उनले बताए । कृषि ज्ञान केन्द्रले दुई लाख ७० हजार रकम सहयोग गरेको त्यती नै रकम आफुहरुले लगाएको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार जलवायु कृषि कार्यक्रम अन्तरगत किसानलाई सहयोग गरेको हो । जलवायु परिवर्तनले विश्वभर कृषि क्षेत्रमा नकरात्म असरहरु देखिएका छन । उनले भने, यी असरहरु कम गर्न मल्चिङ, थोपा सिंचाई, ईन्सेक नेट प्रबिधिबाट तरकारीमा लाग्ने किराहरु लाई नियन्त्रण गर्न सकिन्छ र जलवायु परिवर्तनका नकरात्मक असरहरुसंग जुध्न सकिन्छ । यी प्रबिधिबाट किसानको उत्पादन, उत्पादकत्व र आयआर्जनमा बृद्धि हुने हेतुले प्लाष्टिक टर्नेलसंगै किसानलाई यी प्रबिधिमा सहयोग गरेको उनले बताए । किसानले पनि राम्रो उत्पादन गरेको देखिएको उनले बताए ।