महेन्द्र माविलाई रुडुकले दियो स्मार्ट बोर्ड

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको सामुदायीक विद्यालय महेन्द्र माविलाई स्मार्ट बोर्ड उपलब्ध गराईएको छ । अमरगढी नगरपालिका ५ खलड्ढमा रहेको महेन्द्र माविले केही वर्ष पहिले देखि स्मार्ट बोर्डका माध्यमबाट पठनपाठन गर्दै आईरहेको छ । विद्यालयका सबै कक्षा कोठामा स्मार्ट बोर्ड नभएपछि ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले एक थान स्मार्ट बोर्ड विद्यालयलाई उपलब्ध गराएको हो ।

विद्यालयको आवश्यकताका आधारमा पपुलेशन कनेक्सनको आर्थिक सहयोगमा छात्रा शसक्तिकरण परियोजना (जीइपी) अन्तर्गत विद्यालयलाई एक लाख ७० हजार रुपैयाँ पर्ने ७५ ईन्चको स्मार्ट बोर्ड उपलब्ध गराएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । उनका अनुसार मंगलबार एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं अमरगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टंक क्षेत्रीलाई रुडुक डडेल्धुराका अध्यक्ष मानकुमारी थापाले स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन ।

अध्यक्ष थापाका अनुसार परियोजनाले महेन्द्र माविमा एक जना विद्यालय नर्स कर्मचारी खटाएको छ । छात्राहरुको स्वास्थ्य सरफाईसंगै शुक्रबार हुने अतिरिक्त क्रियाकलापहरुमा परियोजनाले सहयोग गर्दै आईरहेको छ । छात्राहरुको प्रजनन् स्वास्थ्य सम्बन्धमा अभिमूखीकरण कार्यक्रमसंगै साईवर बुलिंग, मेन्टल हेल्थ सम्बन्धि अभिमूखीकरणका कार्यक्रम परियोजनाले गर्दै आईरहेको छ ।

परियोजनाले केही दिन भित्रै विद्यालयका छात्रा शौचालयहरुमा स्वचालित सेनिटरी प्याड भेन्टिक मेसिन र इन्सिनेटर मेसिन जडान गर्ने कार्यक्रम छ । परियोजनाले यस वर्ष विद्यालयको शैक्षिक क्यालेन्डर छपाई र अतिरिक्त क्रियाकलापहरुमा शैक्षिक सामाग्रीहरु विद्यार्थीलाई पुरस्कारका रुपमा उपलब्ध गराउदै आईरहेको उनले बताए ।

महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए । उनका अनुसार नयाँ विद्यार्थी भर्नाका लागि विद्यालयले प्रवेश परिक्षा लिने गरेको छ । २०८१ सालको एसईई परिक्षामा महेन्द्र माविका ११ जना विद्यार्थीले अङ्ग्रेजी विषयमा सैद्धान्तिक तर्फ ए प्लस (४.०० जीपीए) प्राप्त गरेका छन् । त्यसैगरी, २२ जना विद्यार्थीले सैद्धान्तिक तर्फ ए ग्रेडसहित सफलता हासिल गरेका छन् ।

कुल १५१ जना परीक्षार्थीमध्ये १४३ जना विद्यार्थीले उत्कृष्ट जीपीएसहित परीक्षा उत्तीर्ण गरेका छन् । यस वर्षको एसईईमा विद्यालयबाट कुल ५७ जना विद्यार्थी समग्र रूपमा उत्तीर्ण भएको उनले जानकारी दिए ।