किसानलाई रैथाने बाली र जैविक विविधता संरक्षण तर्फ आकर्षित गरिदै

Image

डडेल्धुरा । मूख्य खाद्यान्न बाली धान, गहु, मकै, कोदोसंगै डडेल्धुरा लगायतका पहाडी जिल्लामा केही वर्ष पहिलेसम्म फापर, मुदुरो, चिनो दलहनमा गत, भटमास, मास, मसुरो, बोडी, गुराउस, सोट्टा, रयासलगायतका बाली उत्पादन गरिन्थ्यो । उत्पादन पनि खुबै हुन्थ्यो । तर केही वर्ष यता यी रैथाले बालीनाली लगाउन किसानले छोड्दै गएका छन ।

पछिल्ला वर्षहरुमा भने यी सबै खाद्यान्न र दलहन बालीको बीउ स्थानीय स्तरमा उत्पादन हुदैन भने बीउ आयात गर्नु पर्ने बाध्यता बढ्दै गएको छ । बीउ नै आयात गर्नु पर्ने अवस्थाको सिर्जना भएकाले बीउमा परनिर्भरता बढेको छ ।

जंगली जनावार बदेंल, बादरको आतंक, बढ्दो बसाईसराई, परम्परागत रुपमै खेतीपाती, अन्न, बीउ भण्डारण र बीउ उत्पादन केन्द्र स्थापना नहुदा बीउमा परनिर्भरता बढेको हो । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ मा डेढ दशक अघि नै बीउ बैंक स्थापना गरिएको थियो । केही वर्ष संचलनमा आएको बीउ बैंकले पूर्वको झापालगायत देशभरी नै यहाँ उत्पादन भएको बीउ निर्यात गर्यो । तर देश संघिय व्यवस्थामा गएपछि बीउ बैंक संचालनका लागि कुनै कार्यक्रमहरु नआउदा बन्द गर्नु परेको अमरगढी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं तत्कालिन बीउ बैंक संचालक खडक बोहराले बताए ।

कृषिमा जैविक विविधता संरक्षण र रैथाने बालीहरूको प्रवद्र्धनका लागि अमरगढी नगरपालिका सक्रिय भएको छ । नगरपालिकाको कृषि शाखाले स्थानीय किसानहरूलाई बिउ संरक्षणका सामाग्रीहरू वितरण गर्नुका साथै, रैथाने बालीका विषयमा तालिमसमेत बाँडेको छ ।

बीउको परनिर्भरतालाई कम गर्न अमरगढी नगरपालिका कृषि शाखाले कृषि जैविकि बिबिधता संरक्षण तथा सामाजिक बीउ सुदृढ कार्यक्रम संचालन गरेको हो । गत आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाको कृषि शाखाले अमरगढी नगरपालिका ११ वटै वडामा रैथाने बाली संरक्षणका लागि सतप्रतिशत अनुदानमा बिउ वितरण गरेको छ भने वडा ७ पोखरा क्षेत्रमा जैविक बिबिधता संरक्षण र बिउ उत्पादनका लागि सहयोग गरेको कृषि शाखा संयोजक रमेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार रैथाने बाली संरक्षणका लागि अमरगढीका ११ वटै वडाहरुमा ६ लाख रुपियाँ बराबरको कोदो, सिमि, कागुनो र चिनोको बिउ वितरण गरिएको छ । कोदो १२ कुन्टल, सिमि ५ कुन्टल, कागुनो र चिनो गरि ३ कुन्टल बिउ वितरण गरेको उनले बताए ।

जैविक बिबिधता संरक्षणका लागि पोखरामा पुरानो बिउ बैंकलाई करिब पाँच रकम खर्च गरेको उनले बताए । उनका अनुसार किसानलाई तालिम, बिउ भण्डारण गर्न ब्याग, मल कुहाउन प्रयोग हुने ईएम झोल वितरण र बिउ भण्डारण गर्न काठका र्याक बनाउन उक्त रकम खर्च गरिएको छ ।

पहाडी भूगोल र स्थानीय जलवायु अनुसार अतीतदेखि खेती गरिँदै आएका रैथाने बालीहरू धान, गहुँ, कोदो, फापर, मुदुरो, चिनोलाई संरक्षण गर्न यो कार्यक्रम सुरु गरिएको हो । यस्ता बालीहरू पोषणमा भरपूर, वातावरणसँग अनुकूल र जलवायु परिवर्तन प्रतिरोधी मानिन्छन ।

हाम्रा परम्परागत बालीहरूमा पोषण तत्व भरपूर छन । अहिले ती हराउँदै गएका छन । लोप हुदै गएका बालीनालीहरु लाई पुनः प्रवद्र्धन गरेर स्थानीय खाद्य सुरक्षा र कृषिमा आत्मनिर्भरताको जग बलियो बनाउने प्रयास अमरगढी नगरपालिकाले गरेको छ ।

स्थानीय किसानहरुले पनि यस्तो पहलको स्वागत गरेका छन । अमरगढी–७ की किसान सरस्वती भण्डारीले तालिम, बीउ राख्ने हार्मेटिक ब्याग, मल कुहाउन प्रयोग हुने ईएम झोल पाएपछि सहज हुने बताईन ।
अमरगढी नगरपालिकाले थालेको यो पहलले केवल जैविक विविधता मात्रै जोगाउने छैन, यससंगै स्थानीय खाद्य प्रणालीलाई मजबुत बनाउँदै कृषक समुदायलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने देखिएको छ ।