घोगा नलाग्दै बँदेलले मकै नष्ट गरेपछि हैरान किसान

Image

डडेल्धुरा । घोगा नलाग्दै बँदेलले मबैबाली नष्ट गरेपछि किसान हैरान भएका छन । वैशाख महिनाको अन्तिम साता छरिएका मकैमा अहिले बाला आईसकेपछि घोगा लाग्न चोरी आएको छ । चोरी आएको मकैबारी सबै बँदेलले एकै रातामा नष्ट गरेपछि किसान हैरान भएका हुन । अमरगढी नगरपालिका ७ पोखराको भट्गाउँलगायतका गाउँमा अहिले बँदेलले आतंक मचाई रहेको स्थानीय सरुदेवी भण्डारीले बताईन ।

बर्खेबाली हरु मध्ये अरु बालीभन्दा मकै बाली लगाउन सहज हुन्छ । उनले भनिन्, गाउँ परका बारीमा बँदेले सबै मकै सखाप पार्नथाले पछि मकै खेतीलगायतका कोदो, धान बाली खेती गर्न छोडेको २० वर्ष बढी भयो । गाउँघर नजिकका बारीमा गरिएको मकै पनि केही वर्ष यता बँदेलले सखाप पार्न थालेको छ । खेतीपाती केही राख्दैन । मकै लगायतका अरु बाली लगाएर के गर्नु ? उनले दुःखेसो पोखिन् ।

घरआँगन अगाडीको बारीमा पुगेर बँदेलले मकै सखाप पारेको उनले बताईन । अब त घर भित्रै पस्ला जस्तो भएको छ । उनले भनिन्, परार साल डोटी घटाल गाउँमा बँदेलले एक जनाको ज्यान लिएको सुनेका थियौ । अब त घर भित्रै पसेर मार्छ कि भन्ने डर छ । खेतीपाती बँदेल र बाँदरले केही नराखे पछि जमिन बाँझो छोड्दै आएका छौ । अब खान नपाएपछि घरभित्रै पस्ने त होला नी ?

२०७९ फागुन २१ गते बँदेलको आक्रमणबाट जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ३ का ५२ वर्षाीय गणेश पल्लेको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको पछिल्ला तीन वर्षको घटनाको तथ्यांक हेर्दा बँदेलको आत्रमणबाट थप पाँच जना घाईते भएका छन । यसरी बँदेलले अन्नबाली नष्ट गर्नुकासाथै स्थानीयको ज्यान नै लिने गरेको छ । तर यसको रोकथामका लागि भने कुनै पनि योजनाहरु छैनन् ।