बहुउपयोगी बन्यो चुरेका वस्तिको सिंचाई कुलो

Image

डडेल्धुरा । चुरेका वस्तिमा पक्कि सिंचाई कुलो निर्माण भएपछि बहुउपयोगी बनेको छ । भित्रिमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुदै महाकाली नदीमा मिसिने रंगुन खोलाबाट पक्कि कुलो निर्माण गरिए पछि खेतमा सिंचाईसंगै घरपालुवा जनावरलाई पानी खुवाउन र सरसफाईका लागि स्थानीयलाई सहज भएको छ । पक्कि कुलो निर्माण गरिए पछि आलिताल गाउँपालिका वडा नं. ५ को भावर गाउँका ४० बढी घरधुरीको सयौं रोपनी जमिनमा सहज सिंचाईको पहुच भएको छ । साथै स्थानीयलाई अन्य कामका लागि पानी उपयोग गर्न सहज भएको स्थानीय गगन रावतले बताए ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराको गत आर्थिक वर्ष २०८१/०८२ मा २० लाख रुपैयाँ लागतमा सुन्दर नगर तल्लो भावर सिंचाई योजना निर्माण गरिएको थियो । चुरेको रंगुन खोलाबाट करिब ३२० मिटर लामो कुलो निर्माण गरिएको सुन्दर नगर तल्लो भावर सिंचाई योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहेका रावतले जानकारी दिए । पक्कि कुलो निर्माण गरिए पछि बेला बेला ठाउँ ठाउँमा कुलो फुटेर पानी नआउने समस्याबाट मुक्त भएको उनले बताए ।

पक्कि कुलो निर्माण हुनु अघि यस क्षेत्रमा कच्चि कुलो थियो । कच्चि कुलो हुदा बेला बेला ठाउँ ठाउँमा फुटेर पानी बग्ने भएकाले रोपाईको सिजनमा एक जनाको दिनभरको काम कुलोमा पानी ल्याउने मात्रै हुन्थ्यो । उनले भने, अहिले पक्कि कुलो निर्माण गरिए पछि उक्त समस्याबाट मुक्त भएका छौ ।

कुलोमा पानी निरन्तर आउने भएकाले घर पालुवा जनावरलाई पानी खुवाउन देखी नुहाई धुवाई, लुगा कपाडा धुन स्थानीयलाई सहज भएको छ । पक्कि कुलो निर्माण गरिए पछि यस वर्ष चाडैँ रोपाई सकिएको उहाँले बताउनुभयो । मुहान देखि गाउँसम्म पक्कि कुलो निर्माण गरिए पनि खेतसम्म पुगाउन नसकिएकाले अझै बजेट आवश्यक रहेको उनको भनाई छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख ईञ्जिनियर अमर बहादुर पालका अनुसार गत आर्थिक वर्षमा साढे २५ करोड बजेटका सिंचाई र तटबंधका गरि २०६ वटा योजनाहरु रहेका थिए । यी मध्ये १४० वटा योजना सिंचाईका मात्रै थिए । योजना अनुसार सबै कामहरु सम्झौता भई सुरु भएको उनले बताए । तर असार मसान्तसम्म ५–६ योजनाको काम पुरा नहुदा करिब दुई करोड रकम फ्रिज गएको जानकारी कार्यालय प्रमुख पालले दिए ।