पानीको शुद्धता मापन गर्दै नागरीक लोक बैज्ञानीक तालिम सम्पन्न

Image

डडेल्धुरा । महाकाली नदी तटिय क्षेत्रमा रहेका महिला आर्थिक सशक्तिकरण केन्द्र अन्तर्गत नागरीक लोक बैज्ञानीकहरुको दुई दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

तालिम अबधीमा डडेल्धुरा, दार्चुला र कन्चनपुर जिल्लाका महाकाली नदी तटिय क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका श्रोतहरु बाट पानी संकलन गरि शुद्धता मापन गरिएको छ । विभिन्न १० वटा पारामिटरमा पानीको परिक्षण गरी शुद्धता र जनस्वास्थ्य क्षेत्रमा पिउन योग्य, अयोग्य छुट्याउने प्रयोगात्मक रुपमै अभ्यास गरि तालिम सम्पन्न भएको हो ।

अक्सफाम नेपालका साझेदार संस्थाहरु रुडुक, सिआरडिएस र निड्स नेपालको संयुक्त आयोजनाका र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरासंगको प्राविधिक सहकार्यमा उक्त तालिम डडेल्धुरा सदरमुकामा संचालन गरीएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउनले जानकारी दिए ।

पानीसंग प्राय बढि सरोकार र प्रयोग महिलाहरुको रहने गरेकाले उक्त प्रयोगात्मक तालिममा पनि तीन वटै जिल्लाबाट ३० जना महिलाहरुको सहभागीता रहेको थियो । जनस्वास्थ्य, पानीको शुद्धता एवं जनचेतना अभिबृधि गर्ने क्षेत्रमा उक्त तालिमको प्रभावकारीता उच्च रहने विचार तालिम समापन समारोहका प्रमुख अतिथि रहेका डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

पानी, जनस्वास्थ्यका दृष्टिकोणले निकै महत्वपूर्ण र संवेदनशिल पनि रहेकोले यसको प्रयोगमा निकै सावधानीहरु अपनाउनुपर्ने उनले बताए । पानीको शुद्धताका बारेमा जानकारी राख्नु र अन्य समुदायहरुलाई जानकारी प्रदान गर्नु आवश्यक रहेको उनको भनाई थियो । उक्त तालिम निकै महत्वपूर्ण समयमा आयोजना भएको हुदा यसको भरपुर प्रयोग गरी सामाजिक सेवामा तल्लिन भई कार्य गर्नेमा आफु विश्वास भएको प्रमुख जिल्ला अधिकारीले बताए ।

पानीजन्य रोगले मानव स्वास्थ्यमा निकै प्रतिकुल प्रभाव पारीराख्ने भएकाले यसबारेमा सचेतकासाथै यसको शुद्धता, प्रयोग र व्यवस्थापनमा बैज्ञानीक प्रविधिको परिक्षण पश्चातको उपभोगले पक्कै पनि पानीजन्य रोग एवं प्रभाववाट हुने असरलाई न्यूनीकरण गर्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वाथ्य निरिक्षक केशर बहादुर साउदले बताए ।

उनले आगामी दिनमा समुदाय स्तरमा जनस्वास्थ्य संग सम्बन्धित विभिन्न क्रियाकलापहरु संचालन गर्दा कार्यालयको तर्फबाट हुने सहयोग र सहकार्यकार्य रहेन प्रतिबद्धता व्यक्त गरे ।

तालिममा सहभागी परशुराम नगरपालिका वडा नं ५ की स्थानीय माया सिलालले विगत तीन वर्षदेखी समुदायस्तरमा १० वटा पारामिटरमा पानीको शुद्धता परिक्षण गर्दै आईरहेका बताईन । तालिममा स्वास्थ्य कार्यालय डडेल्धुरामा विभिन्न ल्यावसंग सम्बन्धित प्रविधिहरुको अवलोकन र प्रयोगात्मक अभ्यास पनि गर्न पाएको भन्दै उनले आफुहरु लाई थप उर्जा प्रदान भएको बताईन । उक्त अवसरले समुदायस्तरका लोक बैज्ञानीकका रुपमा कार्य गर्ने हौसला प्रदान गर्ने उल्लेख गरिन । यस कार्यलाई निरन्तरता दिन र सम्बन्धित सरोकारवाला निकायहरुकोसाथ सहयोगको अपेक्षा रहेको उनको भनाई थियो ।