डडेल्धुरा । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २०९औँ स्मृती दिवस मनाईएको छ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन नेपाल एवं विभिन्न स्थानीय पालिका र नेपाली सेनाका गणहरुले देश विभिन्न स्थानमा थापाको शालिकमा फूल माला, पुष्प गुच्छा अर्पण र उनको वीरताको बखान गर्दै स्मृती दिवस मनाईएको छ ।
फाउण्डेसनको आयोजनामा संघिय राजधानी ठमेलको त्रिदेवि मन्दिर परिसदमा शुक्रबार बिहान पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमसंगै रक्तदान कार्यक्रमको आयोजना गरिदै सदस्य राम बगाले थापाले जानकारी दिए ।
थापाको जन्मस्थल गोरखाको सिरानचोक नगरपालिकाले सार्वजनिक बिदा दिई विभिन्न कार्यक्रमको आयोजना गरि स्मृती दिवस मनाएको उनले बताए । यसैगरी थापाले निर्माण गरेको डडेल्धुराको अमरगढी किल्लामा अमरगढी नगरपालिका, नेपालि सेनाको अर्जुन बाण गण, र किल्ला संरक्षण समितिले किल्ला परिसरमा एक कार्यक्रमको आयोजना गरि उनको शालिकमा फूलमाला माल्यार्पण गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अमरसिंह थापाको योगदान र राष्ट्रिय एकताका लागि उनले खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई जिउँदो शहीद को संज्ञा दिए । थापाको अदम्य साहस र वीरताले नेपालीहरूको गौरव बढाएको उल्लेख गरे । अमरगढी किल्लाको विकासलाई जोड दिँदै यो किल्लालाई एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल र युद्ध कलाको अध्ययन केन्द्रको रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।
अमरगढी किल्लाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यसको मास्टर प्लान अनुसार विकास भइरहेको छ । यो काम सम्पन्न भएपछि किल्लाले पर्यटकहरूलाई आकर्षित गर्नुकासाथै यो ऐतिहासिक महत्त्वको अध्ययन केन्द्र पनि बन्नेछ । यस कार्यमा अमरगढी नगरपालिका, नेपाली सेना र किल्ला व्यवस्थापन समितिले मिलेर काम गरिरहेका छन् ।











