कञ्चनपुर । छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् ।
रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आउनुभएका देवताका धामी मानिने वेदकोट नगरपालिका–१० चतहरीका अन्दाजी ५५ वर्षीय कलासा चुनाराले छाउगोठ भत्काउँदै वास्तवमै यो कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताए । वर्षौँदेखि छाउगोठमा बस्दै आएका उनले रजस्वलाका बेला घरमै बस्ने प्रतिबद्धता जनाए ।
“रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ’’, उनले भने, ‘‘यो त महिलाहरूमा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउन सहयोग गरेकी हुँ ।”
गत बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले वर्षौँदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताए । “यस पटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिदा चेत खुलेको छ, अब मसहित छोरी, बुहारी कसैलाई पनि छाउगोठमा बस्न पठाउँदिन ।” उनले भने ।
शुक्रबार वेदकोट नगरपालिका–१० स्थित दुर्गम बस्ती चतहरीमा वडा कार्यालयको आयोजना र स्वीट नेपालको सहकार्यमा छाउगोठसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीहरूले छाउगोठलाई मनैबाट हटाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिलाहरू छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताए ।
महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिलाहरू अब भने छाउगोठ भत्काउन अग्रसर हुनुभएको पालिकाका उपप्रमुख जोशीले बताए । छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उनले बताए ।
गत असार २८ गते छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको पर्सले डसेर ज्यान गएपछि जिल्लाका सबै अन्य पालिकामा पनि छाउगोठ भत्काउन थालिएको हो । वेदकोट नगरपालिकामा अभियान नै चलाएर छाउगोठ भत्काइँदै आएको छ ।











