डडेल्धुरा । २४ गते भएको विध्वंशकारी प्रदर्शनबाट करिब तीन करोडको क्षती भएको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सरकारी, गैर सरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षती भएको हो ।
डडेल्धुरामा अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचन कार्यालयगायत सरकारी कार्यालयहरु, ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) बहुउद्देशीय विकास समाज (एमपिडिएस) गैर सरकारी संस्था, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, विपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्को घरमा आगजनी र तोडफोड हुदा उक्त मूल्य बराबरको क्षती भएको हो ।
सबैभन्दा बढी क्षती गैर सरकारी संस्था रुडुकमा भएको छ । रुडुकका दुई वटा भवन र सबै सामाग्रीहरु आगजनीबाट ध्वस्त भएका छन । रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षती भएको जनाईएको छ । सरकारी कार्यालयहरु मध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षती भएको छ । अन्य कार्यालयहरुले आईतबार देखी सेवा प्रवाह गरे पनि मालपोत कार्यालयको काम ठप छ ।
जेनजी प्रदर्शनले उग्र रुप लिएपछि २४ गतेदेखी बन्द भएका विद्यालयहरु आईतबार देखी संचालनमा आएका छन । प्रदशर्नकारीले केही सरकारी, गैरसरकारी कार्यालय र पार्टी कार्यालयहरुमा आगजनी, तोडफोड गरेपछि अपरान्ह ३ः०० बजे देखि जिल्ला सदरमुकाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । शुक्रबार राती देशले पूर्व प्रधानन्यायधिस शुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पाएपछि शनिबार बिहानै देखि कर्फ्यु हटेको थियो ।











