हिमाली भेगमा हिमपातसँगै चिसो बढ्यो

Image

दार्चुला । सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ । हिमाली भेगमा हिमपात भएपछि चिसो बढेको छ ।

सोमबार रातिदेखि मौसम बदली भएसँगै दार्चुलाको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति फणिन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अपि र नाम्पा हिमाल क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमाल नजिकै रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हाल सम्म हिमपात भएको छैन । यस क्षेत्रमा चिसो भने अत्याधिक बढेको छ । छाङ्रु र टिङ्कर गाउँमा खानेपानीका पाइपहरुमा पानी जमेर पानी आपुर्तीमा केहि समस्यासमेत सिर्जना भएको बताइएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै छाङ्रु गाउँको तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको उनले बताए । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामासमेत चिसो बढेको छ ।