डडेल्धुरा । जिल्ला सदरमुकाम क्षेत्रका धारामा चार दिन पछी खानेपानी संचालन भएको छ । २४ सै घण्टा धारामा आउने पानीको पाईप फुटालिए पछि चोथौ दिन मात्रै धारामा पानी झार्न सफल भएको खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरले बताए ।
उनका अनुसार जिल्ला सदरमुकामको बागबजार–चिरकिट्टे–जोगबुडा जोड्ने निर्माणाधिन सडकको अमरगढी नगरपालिका ३ डोटी घटाल स्थित गोरा खेत खोलामा पक्कि मोटरेवल पुल निर्माणको काम जारी छ ।
पुल बनाउन ठेकेदारले पर्खाल लगाउदा जिल्ला सरमुकाम आउने खानेपानीको पाईप फुटेपछि खानेपानी अवरुद्ध भएको थियो । चार दिन देखी पाईप जडानको काम गरिरहेको उनले बताए । मंगलबार बिहान मात्रै जिल्ला सदरमुकाम खलंगामा रहेको पानी टंकीमा पानी खसाल्न सफल भएको उनको भनाई छ ।
पाईप फुटेको ठाउँमा ६ इन्च गोलाईका १२ थान पाईप जडान गरि अवरुद्ध पानी संचालन गरिएको उनले बताए । उनका अनुसार टंकी भरीन दिनभरी नै लाग्ने भएकाले मंगलबार बेलुकी देखी सबै धारामा पानी सुचारु भएको छ । खलंगा खानेपानी उपाभोक्त समितिसँग तीन लाख लिटर पानी भण्डारण गर्ने क्षमताको ट्याङ्की छ ।
जिल्ला सदरमुकाम क्षेत्रमा २०७६ सालमा तेस्रो साना सहरी आयोजना अन्तरगत ३१ करोड ५५ लाख ६ हजार रुपैयाँ लागतमा एकघर एक धारा मिटिर जडान गरि खानेपानीको आपूर्ती गरिएको थियो । अध्यक्ष ऐरका अनुसार जिल्ला सदरमुकामको खलंगा क्षेत्रमा रहेका १४ धारामा पानी पुगाउन २०३४ सालमा खानेपानी योजना सुरु भएको थियो ।
त्यसपछि एक सय घरधुरीको लागि २०५५ सालमा समिति स्थापना गरी योजना अगाडि बढईएको थियो । अहिले जिल्ला सदरमुकामको जनघनत्व बढेर एक हजार ६ सय बढी घरधुरी पुगेकाले पानीको आपूर्ती सहज आपुर्ती गर्न समस्या भएको उनले बताए ।
खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ । जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न खलंगा खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना सम्पन्न गरिएको थियो ।
जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको सहज आपूर्तीका लागि सदरमुकामको दक्षिण तर्फ रहेको महाभारत पर्वतको अनार्वे मुहानको पानी ल्याउने योजना कार्यान्वयन भइरहेको छ । अहिले सदरमुकाममा वितरण गरिने खानेपानि योजनाको मुहान महाभारत पर्वतकै अमरगढी नगरपालिका २ मा पर्ने लामासिन, मातारे र ३ को अनार्वेमा रहेको छ ।











