डडेल्धुरा । युवाहरुको नेतृत्व र क्षमता विकासका लागि काम गर्दै आईरहेको अन्तराष्ट्रिय संस्था जेसीजले डडेल्धुराको विभिन्न समुदायमा एक सातासम्म फरक फरक कार्य गरि सप्ताह मनाएको छ । जुनीयर चेम्बर अफ ईन्टरनेशनल (जेसीज) डडेल्धुरा शाखाले शिक्षा, स्वास्थ्य, खेलकुद र जनचेतनाका कार्यक्रम गरि जेसीज सप्ताह २०२५ मनाएको हो ।
जेसीज सप्ताहको शुरुवात कात्तिक १९ गते उग्रतारा मेला (देहिजाँत) मा निःशुल्क प्रशोधित शुद्ध पानी वितरण गरेर गरिएको जेसीज डडेल्धुरा वर्ष २०२५ का अध्यक्ष मोहन बहादुर देउवाले जानकारी दिए । उनका अनुसार मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको उपाधी जित्न सफल र सहभागीहरु लाई पुरस्कार, सम्मान गर्दै जेसीज सप्ताहको समापन गरिएको छ ।
सप्ताह अन्तरगत दोस्रो दिन उग्रतारा मन्दिर सरसफाई, तेस्रो दिन रक्तदान, चौथो दिन विद्यार्थीहरु लाई लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतना मूलक कार्यक्रम, पाँचौ दिन ब्याटमिन्टन प्रतियोगिता, छैटौ दिन वकतृत्वकला प्रतियोगिता र सातौ दिन निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको अध्यक्ष देउवाले बताए ।
उनका अनुसार ब्लड बैंक डडेल्धुरामा रक्तदान कार्यक्रमको आयोजना गरि विभिन्न समुहको रगत पहिचानसंगै १० पीन्ट रगत संकलन गरिएको थियो । यसले अस्पतालका विरामीलाई ठूलो राहत पुगेको ब्लड बैंक प्रमुख भगवान पनेरुले बताए । रक्तदान कार्यक्रममा रगतको पहिचानसमेत गरिएकाले आवश्यक पर्दा रगत संकलन गर्न सकिने सहजता भएको उनको भनाई छ ।
सप्ताह कार्यक्रम अन्तरगत गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा गरिएको निःशुल्क आँखा जाँच शिविरमा १४० जना स्थानीयको आँखा जाच गरि १०० जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । ५८ जना नजिकको नदेख्ने समस्या भएकाहरु लाई रिडिंग ग्लास निःशुल्क उपलब्ध गराईएको छ । मोतिबिन्दु भएका ११ जनाको निःशुल्क अप्रेसन गर्ने सम्झौतासमेत गरिएको अध्यक्ष देउवाले बताए ।
शिविर आयोजना गरिएको रुवाखोला जिल्ला सदरमुकाम बागबजारबाट २० किलोमिटरको मात्रै दुरीमा भएपनि आँखा जाँच गर्ने परिपाटी बस्न नसक्दा मोतिबिन्दुको अप्रेसन नै गर्नु पर्ने अवस्था देखिएको आँखा जाँच शिविरमा सहभागी बि अप्टोमेटिक अशोक मन्ठाले बताए ।
बागबजारमा निजी क्लिनिक पनी छन । गेटा आँखा अस्पतालले पनि अस्पताल संचालन गरिरहेको छ । उनले भने, तर पनि स्थानीय आँखा जाँच गराउन नजादा मोतीबिन्दुको अप्रेसन गर्नु पर्ने अवस्थासम्म पुगेको देखियो । शिविर आयोजना गरिदा आँखाको ज्योती गुमाउनु पर्ने अवस्थाबाट स्थानीय जोगिएको र निःशुल्क चस्मा, औषधी पाएकाले अब आँखाको ख्याल गर्ने बानिको विकास हुने उनले बताए ।
सप्ताह अन्तरगत जिल्ला सदरमुकामको माउन्टेन माविमा अमरगढी नगरपालिका भित्रका मावि स्तरिय विद्यार्थीहरुको सहभागिता गराई वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । “आउदो निर्वाचनमा विद्यार्थी युवाको भूमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा ज्ञानोदय विद्या निकेतनका छात्रा भावना भट्ट प्रथम, माउन्टेन माविका छात्रा मनिषा रोस्यारा द्धितिय र वैजनाथ मावी मौरडाका छात्रा दिक्षा पैतला तृतिय हुनु भएको थियो ।
उनीहरुलाई क्रमश नगद तीन हजार, दुई हजार, एक हजार रुपैयाँसंगै प्रमाण–पत्र र मेडलले सम्मान गरिएको अध्यक्ष देउवाले जानकारी दिए ।
यसैगरि जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा निरज सिजापती र हरिओम केसी प्रथम, जेसीज डडेल्धुराका कार्यकारणी उपाध्यक्ष आकाश गुरुंग र शेष नगरकोटी दितिय भएका थिए । प्रथम पुरस्कार नगद पाँच हजार र दितृय पुरस्कार नगद तीन हजार रुपैयाँसंगै प्रमाण–पत्र र मेडलले सम्मान गरिएको थियो ।
जिल्ला सदरमुकाम खलंगाको महेन्द्र माविमा कक्षा ११ मा अध्ययनरत १५० विद्यार्थीहरु लाई लागु औषध दुव्यसनीसंगै अपराध र कानुन बारे जनचेतना मुलक कक्षा पनि संचालन गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक भाष्कर चंदले कक्षा संचालन गरेका थिए ।
प्रहरी निरिक्षक चंदका अनुसार प्रहरीले समुदायमा प्रहरी कार्यक्रम अन्तरगत जनचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको र जेसीसको समन्वयमा विद्यार्थीहरु लाई कक्षा दिईदा लागु औषध दुव्यसनीसंगै अपराधीक क्रियकलापमा कमी आउनुकासाथै समुदायमा सचेतीकरण बृद्धी हुने अपेक्षा गरिएको छ ।











