जिर्ण सुनपोखरी पुनर्निर्माणको तीन करोड रोक्का, १५ लाख बजेटमा पाईपमाथि पाईप जडान

Image

डडेल्धुरा । दुई हजार पाँचसय रोपनी भन्दाबढी भूमिमा सिंचाई हुने गरि पञ्चायतीकालमा निर्माण गरिएको २० लाख लिटर क्षमताको पोखरी फुटेर जिर्ण बनेको १५ वर्ष भयो । ४०० बढी परिवारले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आईरहको जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७ पोखरा क्षेत्रमा उक्त पोखरी फुटीसके पछि छेउमा ५० हजार लिटर क्षमताको सानो पोखरी निर्माण गरिएको छ । सानो पोखरीबाट सिचाई पर्याप्त नहुने भएपछि व्यवसायीक तरकारी खेती गर्दै आईरहेका किसानलाई हैरानी छ ।

चालु आर्थिक वर्षमा संघिय सरकारबाट सुनपोखरी पुनर्निर्माणका लागि तीन करोड रकम विनियोजन भएको थियो । तर जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारले उक्त तीन करोड रकम रोक्का गरिदिदा स्थानीय निरास भएको वडा अध्यक्ष खडक बोहराले बताए । पोखरी फुटेर जिर्ण भएको १५ वर्ष पछि धौ धौ निर्माणका लागि रकम परेको थियो । उनले भने, सुनपोखरीको पुनर्निर्माणका लागि वडामा आम भेला बोलाई छलफल पनि गर्यौ । तर अहिले अर्थ मन्त्रालयले रकम रोक्का गरिदिदा किसान निरास मात्रै होईनन् अझै पोखरी नबन्ने भयो भनि चिन्तित भएका छन ।

डडेल्धुरामा चालु आर्थिक वर्षमा मात्रै उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, जलस्रोत तथा सिचाई विभाग, सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको थियो । यस कार्यालयबाट सुनपोखरी पुनर्निर्माणका लागि संसद विकास कोषको तीन करोड रकम प्राप्त भएको थियो । एक दर्जन योजना कार्यान्वयन गर्ने गरि कार्यालय यस वर्ष स्थापना भएको थियो । तर नौ वटा योजनाहरुको बजेट रोक्का गरिदा अन्यौलता रहेको कार्यालयका सुब्बा देवेन्द्र शाहुले बताए ।

उनका अनुसार एक दर्जन सिंचाईका योजनामा करिब ३४ करोड रकम प्राप्त भएको थियो । जेनजी आन्दोलन हुनु भन्दा अगाडी तीन वटा योजनाको टेण्डर भईसकेको थियो । बाँकी सबै योजनाको रकम रोक्का गरिएको छ । केही दिन अघि मात्रै कार्यालयमा कार्यालय प्रमुख उपस्थित भएपछि बजेट रोकिएको जानकारी पछि योजनाका फाईल बोकेर उहाँ मन्त्रालय तर्फ हिडेको सुब्बा शाहुले जानकारी दिए ।

सुनपोखरी सिचाई योजनामा गत वर्ष जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुरामा १५ लाख बजेट थियो । कार्यालय प्रमुख अमर पालका अनुसार उक्त बजेटमा गत वर्ष जिआई पाईप खरिद गरि जडान गर्ने काम गरिएको छ । उपभोक्ता समिति मार्फत पुरानो पोलिथिन पाईप माथि नै जिआई पाईप खरिद गरि जडान गरिएको हो ।

उनका अनुसार असार मसान्तमा पुरै रकम बराबर काम गर्न नसकिएपछि जडान गरिएको उक्त जिआई पाईपमा पिल्लर राख्ने काम मंसिर महिनाको पहिलो साता मात्रै गरिएको छ । असार मसान्तसम्म ११ लाख बराबरको काम मात्रै गरिएको र यस महिना पिल्लर निर्माण गर्ने काम गरिरहेको कार्यालय प्रमुख पालले बताए ।

सुनपोखरी सिचाई उपभोक्ता समितिका अध्यक्ष दिबहादुर कैनी नेपाल सरकारका करार कर्मचारी हुन । सरकारी कर्मचारीले उपभोक्ता समितिको अध्यक्ष, सविच वा कोषाध्यक्षमा बस्न नपाईने प्रावधान भएपनि विगत दुई वर्ष यता उनी उपभोक्ता समितिका अध्यक्ष र पोखरा खानेपानी उपभोक्ता समितिमा सचिव रहेका छन ।

उपभोक्ता समितिका अध्यक्ष कैनी जिल्ला आयुर्वेद कार्यालय डडेल्धुरामा पाँच वर्ष यता आयुर्वेद वैद्य पदमा कार्यरत कारारका कर्मचारी रहेको आयुर्वेद कार्यालय प्रमुख निशान्त शर्माले जानकारी दिए ।

पोखरा सिंचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनीले गत जेठ महिनामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कर्यालय डडेल्धुराको १५ लाख बजेटको योजनामा करिब डेढ लाख लिटर क्षमताको पोखरी निर्माणका लागि आमभेला बोलाई सम्झौताको तयारी थालिएको बताएका थिए ।

जिर्ण बनेको ठूलो पोखरीको छेउमा करिब ५० हजार लिटर क्षमताको पोखरीबाट यस क्षेत्रमा २० वटा धारा बनाई स्थानीयहरुले सिंचाई गर्दै आईरहेका छन । अब उक्त सानो पोखरी भन्दा दुइ गुणा ठूलो पोखरी निर्माण गरिने भएकाले आवश्यकताका आधारमा धाराहरुसमेत थप गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिएका थिए । तर पछि जिआई पाईप मात्रै खरिद गरि जडान गरिएपछि कर्मचारी र उपभोक्ता समितिका बिच मिलोमतोमा पोखरी निर्माणको बजेटमा हिनामिना भएको आशंका स्थानीयको छ ।

जिर्ण सुनपोखरी उद्देश्य अनुसार संचालन नआउदै रित्तो रहदा पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रकमको टेण्डर भएको पोखरीका तत्कालिन अध्यक्ष हरिलाल पार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी निर्माण भएपछि पोखरा बजार आसपासको जमिनमा सिंचाई गरिदै आएको थियो ।

२०६६ साल आसोज महिनाको अबिरल बर्षापछि पोखरीमा दरार आई फुट्यो । त्यस यता जिर्ण बनेको पोखरी निर्माणका लागि आर्थिक वर्ष २०८०÷०८१ मा पाँच लाख रकम बजेट परेको थियो । तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुंगो नलाग्दा रकम फिर्ता भएको थियो ।

पहिलो पटक सुनपोखरी पञ्चायती व्यवस्था वि.सं.२०२९ सालमा निर्माण गरिएको थियो । यो पोखरी पूर्ण रुपमा कहिल्यै संचालनमा आउन सकेको थिएन । पुनर्निर्माण गरि दुई पटक संचालनमा ल्याइए पनि फुटेर जिर्ण बनेको डेढ दशक बढी भएको छ ।