बैतडीमा बिहे बोकेको बस दुर्घटनाः मृतकको संख्या १३ पुग्यो

Image

बैतडी । बैतडीमा बिहे बोकेको बस बिहिबार बेलुकी दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटना भएको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ५ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका ३१ जना घाइतेलाई राति नै डडेल्धुरा अस्पताल पुर्‍याइएको छ । घाईते मध्ये २ जनालाई थप उपचारका लागि रिफर गरिएको उनले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् ।

बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि मृत्यु भएको छ ।

त्यस्तै, बैतडीको पुर्चौली नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै घाईते भएका ४५ जनाको उद्दार गरि उपचारका लागी पठाईएको थियो ।

बिबाह पश्चात बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो । बस सडकबाट करिब २ सय मिटर तल खसेको जनाईएको छ।