उग्रतारा आयल स्टोरको डिजेलमा भेटियो पानी, गाडीको इञ्जिन बन्द भएपछि कार्वाहीको माग

Image

डडेल्धुरा । निर्माण कम्पनीका गाडीका इञ्जिन बन्द भएपछि डिजेल जाँच गर्दा पानी भेटिएको छ । डिजेलमा पानी भेटिएपछि पेट्रोल पम्पलाई कार्वाहीको माग गरिएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ किर्तिपुर बजार स्थित उग्रतारा आयल स्टोरबाट खरिद गरि लगेको डिजेलमा पानी भेटिएको छ । उक्त पम्पबाट खरिद गरि लगेको डिजेलमा पानी भेटिए पछि आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको जनक गोमा निर्माण सेवाका संचालक दिपकराज जोशीले बताए ।

उनका अनुसार चैत ११ गतेका दिन बिहान करिब १०ः०० बजेको समयमा ३५० लिटर डिजेल खरिद गरि निर्माण सामाग्री संकलन स्थलमा लगिएको थियो । निर्माण सामाग्री संकलन स्थल गन्यापधुरा गाउँपालिका २ रडुवा क्षेत्रमा काम गरिरहेका डोजर र ट्र्याक्टर उक्त डिजेल प्रयोग गर्दा दुई वटै गाडिका इञ्जिन बन्द भए । उनले भने, इञ्जिन बन्द भएपछि जाँच गर्दा जाँदा डिजेलमा पानी भेटियो । हालसम्म १२ लिटर बढी पानि ट्र्याक्टरको टंकीबाट निकालिएको छ ।

चैत १३ गतेका दिन बिहान ट्र्याक्टर नं. सु प प्र ०१००२ त ६७७० र डोजर नं. सु प प्र ०१००१ क २८१० मा उक्त डिजेल प्रयोग गर्दा दुई वटै गाडीका इञ्जिन बन्द भएका थिए । जाडीका इञ्जिन नै बन्द भएपछि पेट्रोल पम्प माथि आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनले जानकारी दिए ।

केही दिन अघि पनि यस्तौ गुनासो आए पछि उग्रतारा पेट्रोल पम्प पुगेर सेम्पल जाँच गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अम बहादुर ओलीले बताए । गाडी मालिकले डिजेल टंकीमा पानी भेटियो भनेर गुनासो गरि छानविन र कार्वाहीका लागि निवेदन दिने गरेका छन । उनले भने, हामिले प्रहरी पठाएर पम्पको नोजलबाट डिजेल निकालेर सेम्पल जाँच गर्दा पानी भेटिएको छैन । आज पनि गाडीको टंकीमा पानी भेटिएको गुनासो आएको र प्रहरी पठाई सेम्पल जाँच गरिने उनले बताए ।