काठमाडौं । सैन्य तनाव र क्षेत्रीय द्वन्द्वका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको सामरिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग इरानले व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला गरेको घोषणा गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले शुक्रबार सामाजिक सञ्जालमार्फत लेबनानमा जारी युद्धविरामलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण जलमार्ग सबै प्रकारका व्यावसायिक कार्गो जहाजहरूका लागि खुला गरिएको जानकारी दिएका हुन् ।
इरानको यो कदमसँगै विश्वभरको ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितता तत्कालका लागि टरेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत भारी गिरावट आएको छ ।
गएको केही सातादेखि इरान र संयुक्त राज्य अमेरिकाबीच बढेको तिक्तता तथा इजरायल/हिजबुल्लाह द्वन्द्वका कारण यो जलमार्गको सुरक्षालाई लिएर विश्वभर चिन्ता व्यक्त गरिँदै आएको थियो ।
इरानले यसअघि आफ्नो जलक्षेत्र भएर जाने जहाजहरूमाथि कडा निगरानी राख्ने र केही क्षेत्रमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि विश्वकै एक तिहाइ तेल ढुवानी हुने यो मार्ग जोखिममा परेको थियो ।
तर, पछिल्लो समय इस्लामावादमा भएको शान्ति वार्ताको सकारात्मक प्रभाव र क्षेत्रीय स्तरमा भएका कुटनीतिक प्रयासहरूका कारण इरानले यो लचिलो नीति अख्तियार गरेको विश्लेषण गरिएको छ ।
इरानको यो घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्य करिब ९ प्रतिशतले घटेको छ । ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडिएट दुवैको मूल्यमा देखिएको यो गिरावटले ऊर्जा संकटको सामना गरिरहेका युरोपेली र एसियाली मुलुकहरूलाई ठूलो राहत पुर्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको यो निर्णयको स्वागत गर्दै जलमार्ग खुला हुनु विश्व अर्थतन्त्रका लागि सुखद समाचार भएको बताएका छन । यद्यपि, इरानले जहाजहरूले आफूले तोकेको समन्वयकारी मार्ग (कोर्डिनेटेड रुट) नै प्रयोग गर्नुपर्ने सर्त भने यथावत राखेको छ ।
सामरिक हिसाबले यो जलमार्ग खुला हुनुलाई मध्यपूर्वमा युद्धको सम्भावना कम भएको संकेतका रूपमा पनि लिइएको छ । लेबनानमा हिजबुल्लाह र इजरायलबीचको १० दिने युद्धविराम कायम रहिरहेको अवस्थामा स्ट्रेट अफ हर्मुज खुल्नुले आगामी दिनमा हुने थप वार्ताहरूका लागि मार्गप्रशस्त गरेको छ ।
अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र आवागमनको सुनिश्चितता हुनुले विश्वका ठूला ढुवानी कम्पनीहरूलाई पनि ढुक्कसँग आफ्ना जहाजहरू सञ्चालन गर्न बाटो खुलेको छ ।
यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको आफ्नो नाकाबन्दी अझै पूर्ण रूपमा नहटाएका कारण पूर्ण सहजताका लागि भने कुटनीतिक संवादको अर्को चरण कुर्नुपर्ने देखिन्छ ।












