डडेल्धुरा । नेपालभारत सिमा महाकाली नदीमा बेपत्ता सशस्क्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिन पछि फेला परेको छ । जिल्लाको भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्र स्थित महाकाली तदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने स्थानीय तीर्थबहादुर थापा मगरको शव नदी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत परिगाउँ क्षेत्रमै रहेको प्रहरीचौकी नजिक महाकाली नदीको किनार कल्पठ्ठे थान भनिने स्थानमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव पारि भारत तर्फ टनकपुर क्षेत्रको महाकाली नदी किनारमा भेटिएको जानकारी प्राप्त भएको उनले बताए ।
उनीहरु दुई जना गएको शुक्रबारदेखि सम्पर्क बेपत्ता भएका थिए । सम्पर्क विहिन भएपछि महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परे पछि नदीमा डुबेको आशंका गरिएको थियो । त्यसपछि सुरक्षा निकायले नदीमा डुबेर बगेको हुन सक्ने आशंकामा खोजी कार्य तिब्र पारेको डीएपी सिंहले बताए ।
खोजीका क्रममा तीर्थबहादुर थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने सशस्त्र जवान पुनको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेवको पारी भारतको टनकपुर क्षेत्रको महाकाली नदीमै पुर्याएको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।
थापाको शव परीक्षणका लागि परशुराम नगरपालिका मुकाम वडा नं. १२ स्थित लालढुंडामा रहेको जोगबुडा अस्पतालमा गरिने भएको छ भने सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव परीक्षणका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल पठाइने जनाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिंहको भनाई छ ।












