डडेल्धुरा। डडेल्धुरामा लामो समयदेखि एउटा व्यवस्थित खेल मैदानको अभाव महसुस हुँदै आएको छ। जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न उपयुक्त पूर्वाधार नहुँदा खेलाडी र आयोजक दुवैले समस्या भोग्दै आएका छन्। यही अभाव अन्त्य गर्ने लक्ष्यसहित महाभारत पर्वत शृंखलाको काखमा रहेको गन्यापधुरा गाउँपालिकामा जिल्लाकै व्यवस्थित खेल मैदान निर्माणको कामले गति लिएको छ।
गाउँपालिका–२ को बडाल, गणेशपुर क्षेत्रमा निर्माणाधीन खेल मैदानलाई आगामी दिनमा रंगशालाको स्वरूप दिने तयारी गरिएको छ। दुर्गम पहाडी भूगोलमा आधुनिक खेल पूर्वाधार निर्माणको प्रयासलाई स्थानीयले खेलकुद विकासको नयाँ सुरुवातका रूपमा हेरेका छन्।
खेल मैदान निर्माणको अवधारणा २०७९ सालमै सुरु भएको थियो। आर्थिक वर्ष २०७९/८० मा आठ लाख रुपैयाँ बजेटबाट प्रारम्भ गरिएको परियोजना अहिले थप विस्तारका साथ अघि बढिरहेको छ। हाल सामाजिक विकास कार्यालय डडेल्धुराको २० लाख रुपैयाँ बजेटमा मैदानको पुनः खोदाइ तथा विस्तारको काम भइरहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार सुरुमा करिब १५० मिटर लम्बाइ र ८० मिटर चौडाइमा निर्माण गरिएको मैदानलाई अहिले थप फराकिलो बनाइँदै छ। नयाँ डिजाइनअनुसार मैदानको चौडाइ १०० मिटरसम्म पुर्याइने योजना छ।
“ठेक्का प्रक्रियामार्फत करिब २३ हजार घनमिटर माटो कटान तथा सम्याउने काम भइरहेको छ,” तामाङले भने, “मैदानको आकार बढाएर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न सक्षम बनाउने उद्देश्य हो।” उनका अनुसार आगामी आर्थिक वर्षमै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मैदानमा आयोजना गर्ने लक्ष्य राखिएको छ।
पाँच करोड बराबरको बजेट सिलिङ
खेल मैदानलाई केवल खुला मैदानमा सीमित नराखी पूर्ण सुविधायुक्त रंगशालाका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। वडा नं. २ का अध्यक्ष मनोज देउवाका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारको समपूरक अनुदान कार्यक्रममार्फत करिब चार करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सिलिङ प्राप्त भएको छ।
“गाउँपालिकाले यसलाई मुख्य प्राथमिकताका योजनामध्ये राखेको छ,” उनले भने, “क्रमागत योजनाका रूपमा समावेश भएकाले आगामी वर्ष ७० लाख रुपैयाँ विनियोजन भइसकेको छ र आवश्यक संरचना निर्माण क्रमशः अगाडि बढाइनेछ।” उनका अनुसार मैदानमा दर्शक बस्ने प्यारापिट, सुरक्षा घेराबार, खेलाडीका लागि आवश्यक पूर्वाधार तथा अन्य संरचना निर्माण गरिने योजना छ।
क्रिकेट मैदान बनाउने लक्ष्य
गन्यापधुरा गाउँपालिकाले यस खेल मैदानलाई विशेषगरी क्रिकेट खेलका लागि उपयुक्त बनाउने लक्ष्य लिएको छ। पछिल्लो समय देशभर क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय क्रिकेट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
यदि योजनाअनुसार काम सम्पन्न भयो भने गन्यापधुराको यो मैदान डडेल्धुरामात्र होइन, सुदूरपश्चिमकै पहाडी जिल्लाहरूका लागि खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ।
खेलकुदसँगै स्थानीय विकासको अपेक्षा
स्थानीयवासीका अनुसार ठूलो खेल मैदान निर्माण भएपछि खेलकुद गतिविधि बढ्नुकासाथै आन्तरिक पर्यटन, व्यापार तथा रोजगारीका अवसरसमेत विस्तार हुनेछन्। जिल्लाका खेलाडीलाई बाहिरका जिल्लामा अभ्यास र प्रतियोगिताका लागि जानुपर्ने बाध्यता पनि कम हुने विश्वास गरिएको छ।
वर्षौंदेखि व्यवस्थित खेल मैदानको प्रतीक्षामा रहेको डडेल्धुराका लागि गन्यापधुरामा निर्माणाधीन यो परियोजना केवल पूर्वाधार निर्माण मात्र होइन, जिल्लाको खेल भविष्य निर्माण गर्ने अभियानका रूपमासमेत हेरिएको छ।













