मैदान अभावमा क्रिकेट संघ डडेल्धुराले खर्च गर्न सकेन झण्डै सात लाख रुपैयाँ

Image

डडेल्धुरा । अधिकांस खेलकुद प्रतियोगिता रकम अभावमा संचालन गर्न नसकिने अवस्थामा जिल्ला क्रिकेट संघ डडेल्धुराले भने करिब सात लाख रकम खर्च गर्न सकेको छैन । जिल्ला क्रिकेट संघ डडेल्धुराको मंगलबार भएको नवौ साधारणसभा तथा सातौ चुनावीसभा उद्घाटन कार्यक्रममा सचिव निरज रावलले प्रश्तुत गरेको संस्थागत प्रतिवेदनमा संघले आफ्नो कार्यकालमा ६ लाख ९२ हजार रुपैयाँ खर्च गर्न नसकेको उल्लेख छ । आईसीसीको मापदण्ड अनुसार क्रिकेट मैदान नहुदा उक्त रकम खर्च गर्न नसकिएको उनले बताए ।

जिल्लाको भित्रिमधेश जोगबुडा स्थित परशुराम नगरपालिका १२ लालढुंगामा क्रिकेट मैदान छ । सदरमुकाम भन्दाटाढा भएकाले प्रतियोगिताहरु संचालन गर्न नसकिएको उनको भनाई थियो । जिल्ला क्रिकेटसंघले खेलाडी छनौट र विभिन्न प्रतियोगितामा महिला र पुरुषको जिल्ला स्तरीय क्रिकेट टीम सहभागि गराउदै आईरहेको छ ।

उनले प्रश्तुत गरेको प्रतिवेदनमा जिल्ला सदरमुकाममा दुई पटक द्धिज गंगा मेमोरियल प्रतियोगिताको आयोजना, १६ वर्ष मूनी एक महिने पुरुष क्रिकेट क्याम्पिंग आयोजना, १९ वर्ष मूनी खेलाडीका लागि परशुरामको लालढुंगामा क्याम्पिंग, महिला/पुरुष प्रादेशिक प्रतियोगितामा सह आयोजक, संभावित क्रिकेट मैदानको अवलोकन र निर्माणका लागि छलफल गरिएको उल्लेख गरिएको छ ।

संघले उपलब्धिमा क्यानले अछाममा आयोजना गरेको १६ वर्ष मूनी प्रादेशिक पुरुष प्रतियोगिता २०८१ मा प्रथम, कञ्चनपुरमा आयोजना भएको १९ वर्ष मूनी पुरुष प्रादेशिक प्रतियोगितामा दोस्रो, महिला प्रादेशिक प्रतियोगिताको प्लेट च्याम्पियन, आलितालका स्थानीय सचिन मल्ल एसीसी मेन्स अन्डर १६ इष्ट जोन मलेसियामा भएको प्रतियोगितामा नेपालको टीममा पर्न सफल, परशुराम नगरपालिका १२ का स्थानीय दिपक बोहरा १९ वर्ष मूनी प्रतियोगितामा नेपालको टीममा पर्न सफल, कैलालीमा सम्पन्न द्धारीकादेवी ठकुरानी १९ वर्ष मूनी टी २० प्रतियोगितामा प्रथम स्थान हासिल, बैतडीमा भएको प्रदेश स्तरीय महिला १९ वर्ष मूनी टी २० मा प्रथम, बैतडीमै भएको पुरुष प्रादेशिक प्रतियोगितामा प्लेट च्याम्पियन र कैलालीमा भएको १६ वर्ष मूनी पुरुष प्रतियोगितामा दोस्रो बन्न सफल भएको उल्लेख गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धिरेन्द्र साउदले पहाडी जिल्लाहरुमा क्रिकेट मैदानको समस्या भएको बताए । मैदानको समस्याका कारण प्रतियोगिता संचालन गर्न नसक्दा खेलाडीहरुले प्रतिभा देखाउन नसकेको बताए । नेपाल सरसरको बजेट नभई आईसीसीको बजेट हुदा पनि मापदण्ड अनुसारका मैदान नहुदा प्रतियोगिता संचालनमा समस्या भएको उनको भनाई थियो । यद्यपी पछिल्ला वर्षमा सरकारले एक प्रदेश एक अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजना बनाएकाले खेलाडीलाई हौसला मिले उनको भनाई थियो ।

नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले सरकारले खेलकुद क्षेत्रमा न्यून बजेट छुट्याउने गरेका कारण राष्ट्रलाई चिनाउने खेलाडीको पहिचान बनाउन नसकेको बताईन । उनले पत्रकारहरुले अन्य क्षेत्रको भन्दापनि खेलकुद क्षेत्रमा स्थानीय सरकारले कति बजेट विनियोजन गरेको छ भनी खोजी गरि रिपोटिंग गरिदन आग्रह गरिन ।

रास्वपा डडेल्धुराका सभापती सुरेन्द्र अवस्थीले जिल्ला सदरमुकाममा क्रिकेट मैदान निर्माणका लागि नयाँ आर्थिक वर्षमा तीन करोड रकम आउने जानकारी दिए । खेल मैदानको डीपीआर नबनाई पूर्वाधार विकासकालागि बजेट हाल्न नसकिने खेलकुद मन्त्रालयका सचिवसंगको भेटमा कुराकानी भएपनि डीपीआर निर्माणका लागी उक्त रकम आउने पक्का भएको उनले बताए । तर डडेल्धुरा जिल्ला खेलकुद समितिले २०७५ मै डडेल्धुरा रंगशाला र उग्रतारा क्रिकेट मैदान निर्माणकालागि डीपीआर निर्माण गरेको जानकारी दिदै आएको छ ।

कार्यक्रमको समापन गर्दै जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेतीले खेल मैदान निर्माण, प्रतियोगिता संचालन एवं संघमा नयाँ पदाधीकारी चयनकालागि सबैले एकै ठाउँमा उभिई बृहत छलफल गर्न आवश्यक रहेको उल्लेख गरे ।