देवदारको सुगन्धमा लुकेको आस्थाः डागेश्वरी मन्दिरको इतिहास, महत्व र प्राकृतिक सौन्दर्य

Image
अजयमेरु गाउँपालिका ६ स्थित संरक्षित देवदार जंगलको डाडामाथि अवस्थित प्राचित शैलीको गाडेश्वरी मन्दिर । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण अनेकन स्थल छन । तीमध्ये अजयमेरु गाउँपालिका–६ मा अवस्थित डागेश्वरी मन्दिर आस्था र प्रकृतिको अनुपम संगमका रूपमा परिचित छ । घना देवदार वनको काखमा रहेको यो मन्दिर धार्मिक दृष्टिले मात्र नभई, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाका हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

स्थानीय जनश्रुति अनुसार डागेश्वरी मन्दिरको इतिहास निकै पुरानो छ । परापूर्वकालदेखि नै यहाँ शक्तिकी देवीको पूजा हुँदै आएको विश्वास गरिन्छ । गाउँघरमा कुनै शुभकार्य गर्नुअघि देवीको दर्शन गर्ने तथा भाकल गर्ने परम्परा आज पनि जीवित छ । स्थानीय गंगादत्त पन्तका अनुसार देवीप्रति श्रद्धा राखेर मागेका मनोकामना पूरा हुने विश्वासका कारण वर्षभरि श्रद्धालुहरूको आवतजावत भइरहन्छ ।

डागेश्वरी क्षेत्र अजयमेरु गाउँपालिकाको धार्मिक पहिचानसँग जोडिएको छ । विशेष गरी दशैं, चैते दशैं र अन्य धार्मिक अवसरमा यहाँ विशेष पूजा, आराधना हुने गरेको छ । टाढाटाढाबाट भक्तजनहरू देवीको दर्शनका लागि पुग्ने गर्दछन ।

मन्दिरको अर्काे विशेषता भनेको यसको वरिपरि फैलिएको संरक्षित देवदार वन हो । दशकौँदेखि संरक्षण गरिँदै आएको यो वन डडेल्धुराकै आकर्षक प्राकृतिक सम्पदामध्ये एक मानिन्छ । अग्ला र सग्ला देवदारका रुखहरूले ढाकिएको जंगलले मन्दिर क्षेत्रलाई थप मनोरम बनाएको छ । वनभित्र प्रवेश गर्दा चिसो हावा, चराचुरुङ्गीको चिरबिराहट र देवदारका पातहरू सुसाएको आवाजले जो कोहीलाई प्रकृतिको नजिक पुगेको अनुभूति गराउँछ ।

वर्षायाममा बादलले देवदार वनलाई ढाक्दा यहाँको दृष्य झन मनमोहक देखिन्छ । हिउँदमा पनि हराभरा देवदारले यस क्षेत्रको सौन्दर्यलाई जीवन्त राख्छन । धार्मिक यात्रामा आएका भक्तजनहरू देवीको दर्शनसँगै वनको प्राकृतिक आनन्द लिन सक्ने भएकाले यो क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ ।

वडा नं. ६ का अध्यक्ष हरी भण्डारीका अनुसार डागेश्वरी क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सके यसले धार्मिक तथा पर्यटकीय गतिविधिलाई थप टेवा पु¥याउनेछ । प्राकृतिक सम्पदा, धार्मिक आस्था र ऐतिहासिक महत्वलाई एकै ठाउँमा समेटेको डागेश्वरी मन्दिर डडेल्धुराको एउटा अमूल्य सम्पदा हो ।

देवदारको सुगन्धले भरिएको शान्त वातावरण, प्राचीन धार्मिक इतिहास र पहाडी प्राकृतिक सौन्दर्यको अनुपम संगम बनेको डागेश्वरी मन्दिर आज पनि सुदूरपश्चिमको मौलिक पहिचान बोकेर उभिएको छ । यहाँ पुग्ने जो कोहीले प्रकृतिको काखमा अध्यात्मको अनुभूति गर्न सक्छ । यही विशेषताले डागेश्वरीलाई डडेल्धुराको धार्मिक तथा पर्यटकीय नक्सामा विशिष्ट स्थान दिएको छ ।