डडेल्धुरा । डडेल्धुरा जिल्ला खेलकुद समितिले नयाँ नेतृत्वसहित पूर्णता पाएको छ। नवनियुक्त पदाधिकारी तथा सदस्यको पदस्थापन र शपथ ग्रहणसँगै समितिले पूर्णता पाएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा जगतबहादुर ऐर, उपाध्यक्षमा दिलबहादुर बोहरा र कोषाध्यक्षमा निरञ्जन रावल चयन भएका छन्। सदस्यमा लक्ष्मण नेगी, रमेश शाह, किरण ऐर, नरेश भाट, निशा कार्की र हरिकला गुरुङ रहेका छन्।
आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ऐरले नवनियुक्त पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए । शपथपछि अध्यक्ष ऐरले सबै पक्षलाई समेटेर समिति गठन गरिएको उल्लेख गर्दै जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले नयाँ समिति गठनमा कुनै राजनीतिक पूर्वाग्रह नराखिएको दाबी गर्दै जिल्लाको खेलकुदलाई व्यवस्थित, गतिशील र परिणाममुखी बनाउने बताए। डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशकै खेलकुदको आकर्षक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य समितिले लिएको उनको भनाइ थियो।
अध्यक्ष ऐरले जिल्लामा व्यवस्थित र स्तरीय खेलमैदानको अभाव रहेकाले आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने बताए। खेलाडी तथा खेलप्रेमीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसहित सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने उनले बताए।
ऐतिहासिक टुँडिखेललाई थप व्यवस्थित र स्तरीय खेलमैदानका रूपमा विकास गर्ने योजना पनि समितिले अघि सारेको छ। टुँडिखेलको संरक्षण, स्तरोन्नति तथा आवश्यक खेल पूर्वाधार थप गरी जिल्लाको प्रमुख खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष ऐरले बताए। योजना घोषणामा मात्र सीमित नराखी बजेट र कार्ययोजनासहित प्राथमिकताका आधारमा काम अघि बढाइने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सीमित स्रोतसाधनका बीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा सम्बन्धित पक्षको प्रशंसा गरे । युवालाई दुर्व्यसनबाट टाढा राख्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
अध्यक्ष अवस्थीले जिल्लामा नियमित खेलकुद गतिविधि सञ्चालन गर्न आग्रह गर्दै हरेक महिना विभिन्न विधाका प्रतियोगिता आयोजना गर्न नयाँ समितिलाई सुझाव दिए। प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नयाँ समितिले विगतका समितिभन्दा फरक र उदाहरणीय काम गरेर आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष अवस्थीले युवाको ऊर्जालाई खेलमैदानमा केन्द्रित गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए। खेलकुदलाई प्रतियोगितामा मात्र सीमित नराखी युवाको व्यक्तित्व विकास तथा दुर्व्यसन न्यूनीकरणको माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको खेलकुद विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु जिल्लाका लागि सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै स्थानीय तहले पनि खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए। जिल्ला प्रशासन कार्यालयले खेलकुद क्षेत्रको विकास तथा खेल पूर्वाधार निर्माणमा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ। नयाँ नेतृत्व आएसँगै जिल्लामा नियमित खेलकुद गतिविधि सञ्चालन, प्रतिभावान् खेलाडीको पहिचान तथा क्षमता विकास र खेल पूर्वाधार निर्माणका लागि पहल हुने अपेक्षा गरिएको कार्यालय प्रमुख डम्बर भण्डारीले बताए। पछिल्लो समय विभिन्न खेल विधाप्रति युवाको आकर्षण बढ्दै गएको अवस्थामा नयाँ समितिसामु जिल्लाका खेल प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय तहसँग समन्वय बढाउने तथा खेलाडीलाई प्रदेश र राष्ट्रियस्तरमा स्थापित गराउने चुनौती रहेको उनको भनाई छ।











