सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

Image

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री खगराज भट्टले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन भने दुई राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले शपथ गराएका छन ।

मुख्यमन्त्री भट्टले बिहीबार राति नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्तमध्ये प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, जानकी कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरीलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री भट्ट गत साउन २९ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएपछि उनले नेकपा (एमाले) का तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

यस्तै, एमालेकै तर्फबाट जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिएको थियो। नयाँ नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्ण भएको हो। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको जिम्मेवारी टुङ्गिएसँगै अब प्रदेश सरकारले नियमित रूपमा नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।