काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको प्रभावले बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक १२ गते बिहीबारदेखि सुरु हुने वर्षा शनिबार बिहानसम्म जारी रहने र त्यसपछि मौसममा सुधार हुने सम्भावना छ ।
उनले बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात भारतका आसपासका राज्य हुँदै नेपालतर्फ विस्तार हुने क्रममा रहेकाले त्यसको प्रभावले वर्षा हुन सक्ने बताए ।
“बङ्गालको खाडीमा चक्रवात बनिरहेको छ । भारतका आसपासका राज्यबाट विस्तार हुँदै नेपालतर्फ आउने भएकाले यसको प्रभावले पानी पर्न सक्ने सम्भावना देखिएको हो,” उनले भने ।
उक्त मौसमी प्रणालीको प्रभाव हिमाली तथा पहाडी भूभागमा बढी पर्ने अनुमान गरिएको छ । तराईका क्षेत्रमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।
उनका अनुसार उक्त अवधिमा देशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी र एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सर्वसाधारणले मौसमसम्बन्धी सूचनामा ध्यान दिन आवश्यक देखिएको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र वर्षाका कारण प्रभावित हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।













