काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रीय बैङ्कले यसअघि आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्दै आएकामा यस वर्षदेखि २०८०र८१ लाई आधार मान्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्र बैङ्कले योसँगै मूल्य सूचक वस्तुहरूको सूची पनि परिमार्जन गरेको छ । यसअघि ४९६ वस्तुको मूल्यका आधारमा सूचकाङ्क तयार गर्ने गरेमा सो सूचीमा रहेका असान्दर्भिक १०६ वटा हटाई प्रचलित १३५ वटा वस्तु थप गरेर ५२५ पुर्याएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
“राष्ट्र बैङ्कले मूल्य सूचकाङ्कलाई समयसापेक्ष र वास्तविक प्रतिनिधित्व गराउने गरी आधार वर्ष र वस्तु सूची संशोधन गरेको छ,” उनले भने, “यस वर्षदेखि सार्वजनिक हुने मूल्य सूचकाङ्क विवरणमा ७७ जिल्ला नै समेटिने छ भने प्रदेशस्तरीय सूचक पनि सार्वजनिक गर्न थालिने छ ।”
राष्ट्र बैङ्कले यसअघि मुद्रास्फीति निर्धारण गर्दा आफैँले घरपरिवार बजेट सर्वेक्षण गर्ने गरेकामा अब केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्याङ्कलाई मान्ने भएको छ ।
आधार वर्ष परिवर्तनसँगै वस्तु समूहको भार पनि संशोधन भएको छ । यसअघि खाद्य तथा पेय पदार्थको भार ४३.९१ प्रतिशत रहेकामा अहिले ४५.७९ पुगेको छ भने गैरखाद्य तथा सेवाको हिस्सा ५६.०९ बाट ५४.२१ प्रतिशतमा झारिएको छ ।
योसँगै राष्ट्र बैङ्कले शोधनान्तर स्थितिको तथ्याङ्क सङ्कलन तथा प्रस्तुतीकरणको विधि पनि परिमार्जन गरेको जनाएको छ । यसअघि बिपिएम–५ का आधारमा शोधनान्तरको स्थिति विवरण सार्वजनिक हुँदै आएकामा विपिएम–६ कार्यान्वयन थालिएको छ ।
गभर्नर अधिकारीले विश्व प्रचलित र सहज अभ्यास अनुसरण गर्ने क्रममा यस्तो परिमार्जन गरिएको जानकारी दिए ।












