नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीको दाउन्नेमा सडक भासिएको सडक अवरुद्ध भएको हो । होङ्सी सिमेन्ट कारखाना जाने हाइटेन्सन लाइन पनि ढलेका कारण सोमबार साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिटर्निङ पर्खाल पनि फुटेको छ ।
त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्किएर साढे एक फिट भासिन पुगेको बताएको छ । अहिले साँझ सवा ५ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र विद्युत कार्यालयसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ ।
बाटो धसिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरु दुम्किवासमा रोकिएका छन भने पश्चिमबाट पूर्व जाने गाडीहरु बर्दघाटमा रोकिएको नवलपुर प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण सयौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन् ।












