काठमाडौँ । वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्गरसडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले अवरुद्ध राजमार्ग र सडक सञ्चालन गर्न स्थानीय जनता, निकाय, सुरक्षाकर्मीको सहयोग र समन्वयमा तीव्र गतिमा काम भइरहेको बताए । उनले मुलुकको अन्य भागसँग सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने मुख्य राजमार्गमध्ये त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई मर्मतसम्भार गरी सञ्चालनमा आइसकेको जानकारी दिए ।
उपमहानिर्देशक अर्यालका अनुसार नागढुङ्गा–मुग्लिङ सडक अन्तर्गत घोप्टेभिर, जलबिरे, मौवा खोला, हुक्दी खोला, फिस्लिङ, काली खोला, सिमलताल खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आइसकेको छ भने नागढुङ्गा–मुग्लिङ खण्डको झ्याप्ले खोला र जवाङ खोला खण्डमा एकतर्फी मात्र सडक सञ्चालनमा आउन सकेको छ । दुईतर्फी खुलाउन प्रयास भइरहेको छ ।
त्यसै गरी सङ्घीय राजधानी जोड्ने अर्को मुख्य राजमार्ग कान्ति लोकपथलाई मङ्गलबार बेलुकासम्ममा काठमाडौँ र हेटौँडातर्फबाट बागमती नदीसम्मको खण्ड सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उनले भने, “बागमती नदीको पुलको पहुँच (एप्रोच) नै तीन सय मिटर बगाएको छ । त्यहाँ तत्काल बनाउन गाह्रो छ ।” कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबास र मकवानपुरको महादेवटार खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
राजधानीलाई उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने अरनिको राजमार्गको काठमाडौँ तर्फबाट १०८ किलोमिटर (सुक्खा बन्दरगाह) सम्मको सडक सञ्चालनमा ल्याई त्यहाँ रोकिएका कन्टेनर काठमाडौँ ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । यस खण्डमा तीन वटा पुल बगेका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी, दकलाङ खण्ड एकतर्फी सञ्चालनमा छ ।














