डडेल्धुरा सदरमुकाम सडक विस्तारः मुआब्जा बाँडियो, निर्माण गर्ने बजेट छैन

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि भन्दै सरकारले ६० करोड रकम मुआब्जा बाँडेको छ । पछिल्ला तीन वर्षमा उक्त रकम स्थानीयलाई उपलब्ध बाँडेको हो । तर हाल सम्म पनि केही स्थानीयले सडकको दायाँ बायाँ १५/१५ मिटिर भित्र बनाएका संरचना हटाएका छैनन् ।

पाँच मिटिर चौडा कालोपत्रे भएको सडक ३० मिटर पराकिलो बनाउने योजना बनाईए पनि सडक निर्माणका लागि आवश्यक बजेट नभएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार केही स्थानीयहरुले मुआब्जा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि संरचना हटाएका छैनन् भने मुआब्जा वाफतको रकम पनि बुझेका छैनन् ।

अमरगढी नगरपालिका ५ बागबजारको पिपिल चौतारा देखि वडा नं. ८ को डकले सम्म सडक विस्तार गर्न सरकारले मुआब्जा वितरण गरेको छ । यस सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि पहिलो चरणमा २० र दोस्रो चरणमा ३० करोड र बाँकी रकम तस्रो चरणमा पठाएको थियो ।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका १०६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको थियो । कार्यालय प्रमुख भट्टराईले तेस्रो चरणमा १० करोड रकम वितरण गरिएको भए पनि नौ जना स्थानीय मुआब्जाका लागि नआएको बताए ।

मुआब्जा रकम वितरणमा चित्त नबुझेको भन्दै केही स्थानीयहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकाले नआएको हुनसक्ने उनले बतए ।

सडक निर्माण गर्न बजेट छैन

सडक डिभिजन कार्यालय कुलपाते डोटीले यो सडक खण्ड निर्माण विस्तरका लागि ९७ करोड बजेट विभागबाट माग गरेको थियो । बजेट माग गरेको दुई वर्ष पुगे पनि रकम प्राप्त नभएको कार्यालय प्रमुख भट्टराईले बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको डडेल्धुरामा साँघुरो सडकले आवतजावतमा सास्ती हुने गरेको छ । जिल्ला सदरमुकामको सडक कालोपत्रे भएको २६ वर्षपछि सडक स्तरोन्नतिको योजना अगाडि बढे पनि निर्माण बजेट नहुदा स्थानीय निरास भएका छन । २०३५ सालमा पहिलो पटक डडेल्धुरामा गाडी पुगे पनि बजार क्षेत्रको सडक कालोपत्रे भने २०५४ सालमा सुरुवात भई २०५७ सम्ममा भएको थियो । विस्तार हुनेमा भने स्थानीय चिन्तित छन ।

बजार क्षेत्रको सडक दायाँ, बायाँका संरचना भत्काई व्यवस्थित हुन नसक्दा पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने भएकाले सास्ती खेप्नु परेको व्यापारी दिपक सिंहले बताए ।