अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्र मार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ ।
यो सम्झौता पश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गरेका थिए । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण मध्य एसिया सम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित थिए ।
परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गरेकी छन । त्यहाँ उनले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिने छन ।













