खोलाले बगाएर बेपत्ता नाबालिकाको परिवारलाई दुई लाख सहयोग

Image

डडेल्धुरा । खोलाले बगाएर बेपत्ता भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले राहात स्वरुप दुई लाख रुपियाँ उपलब्ध गराएको छ । अविरल वर्षाका कारण गत भादौ २८ गते परशुराम नगरपालिका-८ धनुके गाउँकी प्रतिभा धामीलाई खोलाले बगाएको थियो । उनको अवस्था अझै अज्ञात छ ।

मंगलबार उनको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले राहात स्वरुप उक्त रकमको बैंक चेक उनका बाजे रधुवा धामीलाई हस्तान्तरण गरेका छन ।

विपद्का कारण मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल सरकार गृह मन्त्रालययबाट क्रिया खर्च बाफतको रकम बेपत्ता धामीका परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

उक्त चेक हस्तान्तरणका बेला परशुराम नगरपालिकाका उप प्रमुख बिमला महताले मृतक परिवारलाई नगर स्तरीय विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्ने आश्वासन दिइन्।

भादौ २८ गते शुक्रबार बिहान १५ वर्षीया छात्रा धामी घर नजिकैको बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न हिडेकी थिईन । विद्यालय पुग्न जम्रानी खोला तर्नु पर्छ । खोलामा आएको बाढीले उनलाई बगाएको थियो । उनको खोजी कार्य भइरहेको भएपनि शव अझै फेला परेको छैन्।