यो विपदमा सरकारले चार हजार ३३१ जनाको उद्धार गर्‍योः २४ बेपत्ता

Image
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् सदस्यलगायत । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ । भर्खरैको विपदमा सरकारले चार हजार ३३१ जनाको उद्धार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको पहलमा बाढी पहिरो र बुवामा परेकाहरुको उद्धार गरेको बताए ।

उनले सरकारले केही गरेर भन्नु भन्दा पनि उद्धारमा गरेको पहललाई प्राथमिकता दिएर हेर्न अनुरोधसमेत गरे । प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलनमा प्रस्तुत गरेएको विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।

विपद्को घटनाबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

प्रधानमन्त्री ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने बताए ।

प्रधानमन्त्री ओलीले घाइतेको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए ।क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए।